रमेश लेखकले फुकाए महाकाली करिडोरको गाँठो



काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहनुभएका काँग्रेस नेता लेखकले विगतमा सरकारको उदासिनताका कारण निर्माणमा ढिलाई भएको बताउँदै अब डेढ बर्षभित्र करिडोरको ट्रयाक खुलिसक्ने दाबी गरे ।

करिडोरको शुन्य बिन्दु कञ्चनपुरको व्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आईतवार स्थलगत अनुगमन गर्ने क्रममा उनले रुख कटान अनुमतिकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताए । अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्म नै करिडोरको ट्रयाक खुलाउन रुख कटान लगगायत अरु कामको अनुमति दिइसकेको अवस्था रहेको भन्दै नेता लेखकले कञ्चनपुरबाट आउँदो दशैँमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने बताए ।

करिडोरको शुन्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि रुख कटानको अनुमति नहुँदा अलपत्र थियो । नेता लेखककै पहलमा रुख कटान अनुमति लगायत यहाँका ठूला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह भएको थियो । करिडोरको ट्रयाक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने बताए । उनले बैतडी दार्चुला लगायतका जिल्लामा पनि करिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुने बताए।

यसैगरी महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले वन कार्यालयले रुखमा टाँचा लगाउन शुरु गरेसँगै काम अगाडि बढेको बताए । उनका अनुसार नेपाल-भारत र चीनसँग जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ ।

करिडोर अन्तर्गत ४२५ किलोमिटर ट्रयाकमध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्रयाक खोलिरहेको छ । करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थियो ।


क्लिकमान्डु