पूर्वराजा र गठबन्धनका कार्यकर्ताले आक्रमण गरे: ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरुमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको दाबी गरे ।

उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरुले ढुंगामुढा गरेको उनले बताए।

हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने माथि सरकारले नियन्त्रण नगरेको भनाइ थियो ।

‘कार्यक्रममा जाँदै गर्दा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरु, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरु गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ’ ओलीले भने, ‘अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरु अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन् । हाम्रा विरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरु यिनका मुखबाट भएको छ । त्यो म आफैंले देखेर, भोगेर आएको छु ।’

ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरे । स्वार्थी तत्व र बिकाउ मालहरु, अपराध कर्ममा लागेकाहरुले मात्रै राजतन्त्रलाई मान्ने उनको आरोप थियो । ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मुर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन् । कोही कोही अज्ञानीमा पनि मान्छन् । तीन खालकै भनौं’ ओलीले भने ।


क्लिकमान्डु