रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ: मन्त्री किराती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री किरातीले जनताले लोकप्रिय मत दिएकाले लामिछानेलाई रोजेको मन्त्रालय दिन तयार हुनुपर्ने बताए । त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको उनले बताए ।

मन्त्री किरातीले देशको अर्थतन्त्र संकटमा रहेकाले राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बताए ।

‘जनताले भनेका छन्, तिमीहरुले होस पुर्‍याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरित पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ,’ उनले भने, ”कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको बिरुद्धमा एकजुट होऔँ । र जो अत्याधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर जन्मिएको जस्तो ।’


क्लिकमान्डु