६७ वर्षमा १७ गभर्नर, को के गर्दैछन् ?



काठमाडौं । तराईमा नेपाली रुपैयाँको प्रचलन र भारुको सहटी दरलाई स्थिर बनाउने उद्देश्यले तत्कालिन राजा महेन्द्रले वि. सं. २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना गरे ।

राष्ट्र बैंकको पहिलो गभर्नर थिए हिमालय शमशेर राणा । अर्थसचिवका रुपमा ४ वर्ष ८ महिनाको कार्यकाल पूरा गरेपछि राणालाई महेन्द्रले नै राष्ट्र बैंकको ऐन बनाउनेदेखि कार्यालय स्थापनाको जिम्मेवारी दिएका थिए ।

हिमालय शमशेर राणा २०१३ वैशाख १४ गते राष्ट्र बैंकको पहिलो गभर्नर बनेपछिका ६७ वर्षमा १७ जना गभर्नर भइसकेका छन् । राष्ट्र बैंकले ६८औं वार्षिकोत्सव मनाइरहँदा १७ गभर्नर भइसकेका छन् । ६८ वर्षको इतिहासमा पनि केन्द्रीय बैंकको स्वायत्तातालाई लिएर बेला बेला प्रश्न उठ्ने गरेको छ ।

यही वर्ष देशले राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमशेर जबरालाई गुमाएको छ । राष्ट्र बैंकका प्रथम गभर्नर जबराको माघ २२ गते आइतबार ९५ वर्षको उमेरमा निधन भयो ।

राष्ट्र बैंकमा राणापछि दोस्रो गभर्नरका रुपमा लक्ष्मीनाथ गौतम नियुक्त भए । उनले ४ वर्षभन्दा बढीसमय गभर्नरका रुपमा राष्ट्र बैंकमा काम गरे । तेस्रो गभर्नरका रुपमा प्रद्युम्नलाल राजभण्डारी र चौथो गभर्नर डा. भेषबहादुर थापा नियुक्त भए । दुबै जनाको कार्यकाल अन्यको तुलनामा अविस्मरणीय नै छ । दुई जनाले करिब १ वर्षमात्रै काम गरे ।

पूर्णकार्यकाल काम गर्ने गभर्नरमा डा. यादवप्रसाद पन्त, कुल शेखर शर्मा, कल्याण बिक्रम अधिकारी, गणेशबहादुर थापा, हरिशंकर त्रिपाठी, सत्येन्द्र प्यारा श्रेष्ठ हुन् ।

त्यसपछिका ११औं गभर्नर डा. तिलक रावलको कार्यकाल सन् २००० जनवरी १८ देखि २००५ जनवरी १७ सम्म रह्यो । यद्यपि यसबीचमा दीपेन्द्र पुरुष ढकाल सन् २००० अगष्ट २९ तारिखदेखि २००१ अप्रिल २७ सम्म गभर्नर बने । रावललाई पदमा छँदै भ्रष्टाचारको मुद्दा लागेपछि ढकाल गभर्नरमा नियुक्त बनेका थिए । तर, डा. रावलको मुद्दाको किनारा लागेपछि पुनर्वहाली गरिएको इतिहास छ ।

सन् २००५ जनवरी ३१ मा गभर्नर बनेका विजयनाथ भट्टराईको कार्यकाल सन् २०१० जनवरी ३० मा सकियो । तर, यसबीचमा दीपेन्द्रबहादुर क्षेत्रीले सन् २००९ जनवरी १५ देखि २००९ जुलाई २६ सम्म गभर्नरको कार्यभार सम्हाले । भट्टराईलाई भ्रष्टाचार गरेको आरोप लागेपछि सरकारले बर्खास्त गरेको थियो । छानिबिनपछि सफाइ पाए र फेरि गभर्नर बने ।

त्यसपछि डा. युवराज खतिवडा, डा. चिरञ्जीवि नेपालले पनि ५ वर्षको कार्यकाल पूरा गरे । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल ३ वर्ष पूरा भइसकेको छ ।

कहाँ छन् पूर्वगभर्नरहरु ?
डा. चिरञ्जीवी नेपाल:
डा. नेपाल नेपाल राष्ट्र बैंकका १६औँ गभर्नर हुन् । डा. नेपाल गभर्नर हुनुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । त्यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष बनेका थिए । डा. नेपाल अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकारसमेत भएर काम गरेको अनुभव छ । अहिले राष्ट्रपति रामचन्द्र पौडेलेको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । उनलाई चैत १५ गते सल्लाहकारमा नियुक्त गरेको छ । उनी पाल्पा जिल्लाको क्षेत्र नम्बर २ का बासिन्दा हुन् ।

डा. युवराज खतिवडा: डा. खतिवडा राष्ट्र बैंकका १५औँ गभर्नर हुन् । उनी २०६६ चैत ९ गतेदेखि २०७१ साल चैत ५ गतेसम्म राष्ट्र बैंकको गभर्नर बने । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा डा. युवराज खतिवडा अर्थमन्त्री भए ।

डा. खतिवडा मन्त्री हुनुभन्दा अघि राष्ट्र बैंकका गभर्नर भएका थिए । त्यसअघि उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भएका थिए । डा. खतिवडासँग कोलम्बो यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीको रुपमा ३ वर्ष काम गरेको अनुभव छ ।

डा. खतिवडा राष्ट्र बैंकका पूर्वकर्मचारी समेत हुन् । उनले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भएर काम गरेका थिए । उनी अहिले नेकपा एमाले पार्टीको वित्तीय नीति तथा वित्तीय क्षेत्रमा सल्लाहकारको भूमिकामा रहेर काम गरिरहेका छन्।

दीपेन्द्र बहादुर क्षेत्री: राष्ट्र बैंकका १४औँ गभर्नर क्षेत्रीलाई स्वतन्त्र बामपन्थी बुद्धिजीवीको रुपमा चिन्छन् । उनी योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । क्षेत्री थोरै समय काम गर्ने गभर्नर हुन् । उनले २०६५ माघ २ गतेबाट नियुक्त भएर २०६६ साउन ११ गतेसम्म मात्रै काम गरे । हाल क्षेत्रीलाई सबैले अर्थविदको रुपमा चिन्छन् । सरकारले क्षेत्रीलाई पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमको व्यवस्थापन र संरचनात्मक सुधार समितिको सदस्यमा नियुक्ति गरेको छ ।

सत्येन्द्रप्यारा श्रेष्ठ: श्रेष्ठ राष्ट्र बैंकका १०औं गभर्नर हुन् । उनी २०५१ माघ ४ गतेबाट २०५६ सम्म राष्ट्र बैंकको गभर्नर बने । उनी नबिल बैंकको अध्यक्ष भएर पनि काम गरे ।

डा. यादवप्रसाद पन्त: राष्ट्र बैंकका पाँचौ गभर्नर हुन् पन्त । उनको निधन भइसकेको छ । पन्त २०२५ बैशाख २ गतेदेखि २०३० बैशाख ६ गतेसम्म राष्ट्र बैंकको गभर्नर बने । उनी गभर्नर मात्रै नभएर जापानका लागि नेपाली राजदूत पनि हुन् । उनी अर्थमन्त्री, वाणिज्य तथा जलस्रोत मन्त्री बनेका थिए ।

डा. भेषबहादुर थापा: थापा राष्ट्र बैंकका चौथो गभर्नर हुन् । डा. थापाले २०२३ देखि २०२४ सम्म गभर्नरका रुपमा काम गरे ।
उनी पूर्वराजदूतसमेत हुन् । थापाले अमेरिकाका लागि नेपाली राजदूतका रुपमा दुई कार्यकाल र भारतका लागि नेपाली राजदूतको रुपमा एक कार्यकाल काम गरे ।

डा. थापा निजामती कर्मचारी पनि हुन् । डा. थापा अर्थसचिव, अर्थराज्य मन्त्रीहुँदै अर्थमन्त्री तथा परराष्ट्र मन्त्री समेत बने । थापालाई कुटनीतिज्ञको रुपमा पनि हेर्ने गरिन्छ ।


क्लिकमान्डु