ओलीमाथि ढुंगामुढाको प्रयास: संसदमा एमालेको आपत्ति



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समयमा उनले भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुङ्गामुढाको प्रयास भएको भन्दै आपत्ति प्रकट गरे ।

प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पारे ।

जवाफमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनामा संलग्न १ जनालाई पक्राउ गरिएको जानकारी संसदलाई दिए । सरकार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ छ ।


क्लिकमान्डु