स्वास्थ्य बीमामा कोशी प्रदेशको सहभागिता उच्च, कर्णाली कमजोर



काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा कोशी प्रदेशको सहभागिता उच्च देखिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ६५ लाख २० हजार जनामा स्वास्थ्य बीमाको पहुँच पुगेको छ ।

कुल सहभागि बीमितमध्ये सबैभन्दा धेरै बीमित कोशी प्रदेशका हुन् । कुल बीमितमध्ये कोशी प्रदेशका २० लाख २० हजार बीमित कोशी प्रदेशका छन् ।

बीमा कार्यक्रममा कोशी प्रदेशको सहभागिता उच्च देखिँदा कर्णाली प्रदेश भने सबैभन्दा कमजोर देखिएको हो । कार्यक्रममा कर्णाली प्रदेशबाट ३ लाख ७७ हजार जना सहभागि भएका छन् । यस्तै, कार्यक्रममा मद्येश प्रदेशबाट सहभागि भएका बीमितको संख्या ४ लाख ६७ हजार छ ।

कोशी प्रदेशपछि कार्यक्रममा धेरै बाग्मती प्रदेशका १३ लाख ४६ हजार ४४५ जना बीमित सहभागि भएको बोर्डको तथ्यांक छ । यस्तै, लुम्बिनी प्रदेशका १० लाख ७७ हजार ९७३, गण्डकी प्रदेशका ८ लाख २६ हजार २९७ र सुदुरपश्चिम प्रदेशका ५ लाख १ हजार ९४५ जना बीमित सहभागि भएका छन् ।

‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्दै सरकारले २०७२ चैत, २५ मा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको थियो । स्वास्थ्य बीमामार्फत आफ्ना नागरिकहरुको स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्ने सरकारको लक्ष्य थियो ।

झापा जिल्लाका बीमित बढी

कार्यक्रममा सहभागि भएका बीमितमध्ये सबैभन्दा धेरै झापा जिल्लाका छन् । बोर्डको जिल्लागत तथ्यांकअनुसार कार्यक्रममा झापा जिल्लाबाट ६ लाख ३८ हजार जना सहभागि भएका छन् ।

सबैभन्दा कम डोल्पा जिल्लाबाट ३ हजार मात्रै सहभागि भएका छन् । यस्तै, सुनसरी, मोरङ र चितवन जिल्लाबाट सहभागी हुने संख्या बढी छ । बोर्डका अनुसार यस कार्यक्रममा हालसम्म सुनसरी जिल्लाबाट ४ लाख ६७ हजार, मोरङ जिल्लाबाट ४ लाख ५७ हजार र चितवन जिल्लाबाट४ लाख ३९ हजार जना सहभागी भएका छन् ।

कैलाली जिल्लाबाट २ लाख ६४ हजार, पाल्पाटबाट २ लाख ३१ हजार, कास्की जिल्लाबाट २ लाख २९ हजार भक्तपुर जिल्लाबाट २ लाख ३२ हजार र मकवानपुर जिल्लाबाट १ लाख ८४ हजार जना सहभागी भएको बोर्डको तथ्यांक छ ।
कार्यक्रममा पुरुषको तुलनामा महिला सहभागिता बढी देखिन्छ । मद्येश प्रदशे बाहेक अन्य सबै प्रदेशमा महिला बीमितको संख्या बढी रहेको हो ।

के हो स्वास्थ्य बीमा, के के पाइन्छ सुविधा ?

स्वास्थ्य बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् । बीमा सुविधा अन्र्तगत बीमितले १ हजार १३३ औषधिको सुविधा पाउँछन् ।

कार्यक्रमअनुसार बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएका मध्ये कुनै पनि स्वास्थ्य संस्थाबाट बीमा भुक्तानी रकम ननाघ्ने गरी ओपीडी, इमर्जेन्सी, ल्याब, शल्यक्रिया, एक्सरे लगायतका उपचार सेवा पाउन सक्ने व्यवस्था छ ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गराएमा भने बीमाबापतको सेवा भने यस कार्यक्रममा उपलब्ध छैन । बीमितले सरकारले तोकेको निःशुल्क औषधिसमेत बीमितले पाउँछन् ।

स्थानीय गाउँ, नगर, उप तथा महानगरपालिकाका प्रत्येक वडामा एक÷एक जना दर्ता सहयोगी नियुक्ति गरी बीमा दर्ता र नवीकरण गर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु