प्राधिकरणको निर्देशनपछि प्रभु लाइफका सञ्चालक पोखरेलले दिए राजीनामा



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५० ‘ट’ मा भएको व्यवस्था कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

प्राधिकरणले कम्पनीहरुलाई चैत १७ गते पत्र पठाउँदै ऐनअनुसार सञ्चालकहरुको व्यवस्थापन गरी गराई १५ दिनभित्र जानकारी गराउन भनि पत्र काटेको थियो ।

सोही बमोजिम प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक मनिराम पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले वैशाख ३ गतेदेखि लागू हुने गरी सञ्चालक पदबाट राजीनामा पेस गरेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किशोर प्रसाद लामिछानले जानकारी दिए ।

पोखरेल कम्पनीका संस्थापक सेयरधनी प्रभु बैंकबाट सञ्चालक समितिको सदस्यका रुपमा मनोनयन भई सञ्चालक बनेका थिए।
बीमा ऐनको दफा ५० को ट अनुसार सार्वजनिक पद धारण गरेको वा सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक, बैंक तथा वित्तीय संस्थाको बहालवाला कर्मचारी समेत बीमकको सञ्चालक हुन अयोग्य हुनेछन् । उक्त व्यवस्थाले सरकारि स्वामित्वमा सञ्चालित बीमा कम्पनीसहित १३ कम्पनीका सञ्चालक अयोग्य देखिएका छन् ।


क्लिकमान्डु