मर्जरले बीमा कम्पनीका शाखासँगै कर्मचारी संख्या घट्यो



काठमाडौं । मर्जरका कारण बीमा कम्पनीका शाखा कार्यालयसँगै कर्मचारीको संख्या घटेको छ ।

नेपाल बीमा प्राधिकरणकाअनुसार फागुन महिनासम्ममा कम्पनीहरुको कुल शाखा कार्यालयको संख्या ३ हजार २१५ वटा रहेका छन् । बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या ११ हजार ५२४ जना रहेका छन् ।

गत आवको तुलनामा कम्पनीहरुको शाखा कार्यालयको संख्या ३.४२ प्रतिशत र कर्मचारीहरुको संख्या २.७७ प्रतिशतले घटेको हो ।

गत आवको फागुनसम्ममा कम्पनीहरुका शाखा कार्यालयको संख्या ३ हजार ३२९ र कर्मचारी संख्या ११ हजार ८५२ जना रहेको थियो ।

बीमा प्राधिकरणले पुँजी बढाउन निर्देशन दिएपछि पछिल्लो समय बीमा कम्पनीहरु मर्ज भइरहेका छन् । जसकारण कम्पनीहरुको शाखा कार्यालयसँगै कर्मचारीको संख्या पनि घट्दै गएको हो ।

प्राधिकरणले पुँजी वृद्धिको नीति लिनुभन्दा अघि बजारमा ३९ वटा कम्पनीहरुले बीमा व्यवसाय गर्दै आएका थिए । हाल उक्त संख्या ३३ वटामा कायम भएको छ । जीवन बीमा कम्पनीको संख्या १९ बाट घटेर १७ र निर्जीवन बीमा कम्पनीको संख्या २० बाट १६ मा झरेको हो ।

हालसम्म जीवन र निर्जीवन गरी २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय लिएका छन् । जसमध्ये हालसम्म १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन् ।

मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये आठ निर्जीवन बीमा कम्पनी चार वटामा कायम भएर एकीकृत कारोबार थालनी गरेका छन् । चार कम्पनी मर्जर प्रक्रियामा छन् ।

मर्जर प्रक्रियामा रहेका ९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटाले २ वटामा कायम भई एकीकृत कारोबार थालनी गरिसकेका छन् । अझै ५ कम्पनीमा मर्जर प्रक्रियामा छन् ।

प्रक्रियामा रहेका सबैको मर्जर सफल भएमा जीवन बीमा कम्पनीको संख्या २८ वटामा सीमित हुनेछ । जसअनुसार कम्पनीहरुको शाखा कार्यालयसँगै कर्मचारी संख्या पनि अझै घट्ने देखिन्छ ।

पहुँच ४४.५ प्रतिशतमा पुग्यो

बीमाको पहुँच ४४.५ प्रतिशत जनसङ्ख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार फागुनसम्ममा बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४४.५ प्रतिशत पुगेको हो ।

गत आवको फागुनसम्ममा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३५.४५ प्रतिशत थियो । बीमाको दायरामा आएको जनसंख्या प्रतिशत म्यादी र लघु म्यादी जीवन बीमालेखसहित ३९.४६ प्रतिशत छ । भने बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक १८.५६ प्रतिशत छ ।

कुल जीवन बीमालेख संख्या २५.१५ प्रतिशतले बढेर १ करोड ४० लाख १ हजार ५७७ वटा छ । जीवन बीमा कम्पनीहरुमा वैदेशिक रोजगरा बीमालेखको संख्या १३ लाख ९३ हजार ९५६ छ । जुन गत आवको सोही अवधिको तुलनामा ६३.७४ प्रतिशतले धेरै हो ।

निर्जीवन बीमालेखको संख्या भने घटेको छ । गत आवको सोही अवधिको तुलनामा निर्जीवन बीमालेखको संख्या ३.२४ प्रतिशतले घटर १८ लाख ७६ हजार ४५३ वटामा सीमित भएको हो ।

कुल बीमाशुल्क १.७९ प्रतिशतले बढेर १ खर्ब १९ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आवको फागुनसम्ममा कम्पनीहरुले १ खर्ब १७ अर्ब ४९ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।


क्लिकमान्डु