कुन कम्पनीमा बीमा गर्दा पाइन्छ उच्च बोनस ?



काठमाडौं । मर्जरमा गएका कम्पनीसमेत गरी हालसम्म ७ वटाले आर्थिक वर्ष २०७८/०७९ को लागि बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । यस्तै, ९ वटा कम्पनीले आव २०७७/०७८ का लागि र २ वटाले आव २०७६/७७ को लागि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले लामो अवधिको बीमा योजनामा उच्च बोनसदर कायम गरेको देखिन्छ । कम्पनीहरुबीच उच्च बोनसदर घोषणा गर्ने प्रतिस्पर्धाका कारण कम्पनीहरुले लामो अवधिको योजनामा भएपनि सर्वाधिक बोनसदर दिने गरेका हुन् ।

तर, उच्च बोनसदरको लाभ लिने बीमितको संख्या भने न्यून देखिन्छ । अधिकांश बीमितले १० देखि २० वर्षे अवधिको योजनामा मात्रै खरिद गर्ने गरेको कम्पनीहरुले प्रकाशित गरेको बोनसदर तालिकाले देखाउँछ । बीमा कम्पनीहरुले वितरण गर्ने बोनसदर उच्चभन्दा पनि दिगो हुनुपर्ने विज्ञहरु बताउँछन् ।

उच्च बोनस दिने कम्पनी

सूर्या लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, मेट लाइफ र प्राइम लाइफ उच्च बोनस दिने कम्पनीमा परेका छन्  ।

यी कम्पनीमध्ये पनि उच्च बोनसदर साविकको सूर्या लाइफले दिएको छ । इन्स्योरेन्सले आव २०७८/०७९ को लागि बीमितलाई प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

उच्च बोनसदर दिने दोस्रो कम्पनीको सूचीमा नेसनल लाइफ परेको छ । नेसनल लाइफले गत आवमा अधिकतम प्रतिहजार ८५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यस्तै, उच्च बोनसदर दिने कम्पनीको तेस्रो सूचीमा नेपाल लाइफ र चौथो सूचीमा प्राइम, मेट लाइफ परेका छन् । नेपाल लाइफले बीमितलाई प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले आव २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी प्रतिवेदन पारित भएपछि नयाँ बोनसदर कायम गरेको थियो । कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि यहि बोनसदर लागू हुनेछ ।

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी(मेट लाइफ)ले प्रतिहजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७८/०७९ सम्मको बीमांकीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुको लागि उक्त बोनसदर कायम गरेको हो ।

प्राइम लाइफले बीमितलाई प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी प्रतिवेदन पारित भएपछि नयाँ बोनसदर कायम गरेको थियो । कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि यहि बोनसदर लागू हुनेछ ।

अन्य कुन कम्पनीमा कति ?

सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र एशियन लाइफले प्रतिहजार अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेका छन् । यी कम्पनीहरुले इन्स्योरेन्सले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी प्रतिवेदन पारित भएपछि नयाँ बोनसदर कायम गरेका हुन् ।

रिलायबल नेपाल लाइफले पनि बीमितलाई प्रतिहजार अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले आव २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी प्रतिवेदन पारित भएपछि नयाँ बोनसदर कायम गरेको थियो । कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि यहि बोनसदर लागू हुनेछ ।

यस्तै, आइएमई लाइफ, सानिमा लाइफ र प्रभु लाइफले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेका छन् । यी कम्पनीहरुले इन्स्योरेन्सले आव २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी प्रतिवेदन पारित भएपछि नयाँ बोनसदर कायम गरेको थियो । कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि यहि बोनसदर लागू हुनेछ ।

यस्तै, यूनियन लाइफले प्रतिहजार अधिकतम ७३ रुपैयाँ, रिलायन्स लाइफले ६५ रुपैयाँ, एलआइसीले ७० रुपैयाँ, महालक्ष्मी लाइफले ५२ रुपैयाँ र गुराँस लाइफले ७६ रुपैयाँ कायम गरेको छ ।

युनियन र रिलायन्सले आव २०७७/७८ को बीमांकीय मूल्यांकन प्रतिवेदन पारित भएपछि नयाँ बोनसदर कायम गरेका थिए । यस्तै, एलआइसी नेपालले आव २०७६/७७ देखि नयाँ बोनसदर कायम गरेको छैन ।

गुराँसले आव २०७७/७८ को बीमांकीय मूल्यांकन प्रतिवेदन पारित भएपछि नयाँ बोनसदर कायम गरेको हो । यस्तै, महालक्ष्मी लाइफको बोनसदर आव २०७६/७७ को बीमांकीय मूल्यांकन प्रतिवेदन पारित भएपछि सार्वजनिक भएको बोनसदर नै कायम छ ।

जीवन बीमा कम्पनीले बीमितहरुलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ  । बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ । बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ ।


क्लिकमान्डु