मुस्ताङको सेकुङ तालमा पर्यटकको आकर्षण बढ्दै, दुई हिमाल देख्न सकिने



मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल ।

यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ ।

सडक सञ्जालले छोएपछि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउँछन् । बहुचर्चित बेनी–जोमसोम–कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग पन्ध्र मिनेट लाग्छ ।

एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो । पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ ।

ताल समुद्री सतहदेखि दुई हजार सात सय २५ मिटर उचाइमा अवस्थित छ । तालसम्म पुग्न व्यवस्थित सडक निर्माण सँगसँगै ताल वरपर रिङरोड, पार्किङ, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिएको वडा नं– २ का अध्यक्ष गौतम शेरचनले बताए ।

मुस्ताङ जिल्लामा मात्रै करिब आधा दर्जनभन्दा बढी तालतलैया छन् । जसमा अत्यन्तै चर्चित ताल ढुम्बा हो । यो घरपझोङ गाउँपालिका– ५ मा पर्छ । तर अहिले सेकुङ ताल पनि आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको वडाध्यक्ष शेरचनको ठम्याइ छ ।

थासाङ गाउँपालिकाभित्रका प्रमुख आकर्षणको रुपमा रहेको टिटी ताल र भुछर ताललाई समेत विभिन्न निकायले संरक्षण र व्यवस्थापनमा आवश्यक पहलकदमी चालिरहेको अध्यक्ष शेरचनले बताए ।

गत साल मात्रै तीन वटा तालको संरक्षण र प्रवद्र्धन गर्नको लागि सङ्घीय सरकारले गुरुयोजना नै बनाएर एक करोड ५० लाख बजेट विनियोजनसमेत गरेको थियो । पर्यटकलाई त्यहाँसम्म जाने वातावरण निर्माणका लागि विशेषतः प्रचारप्रसारको खाँचो देखिएको वडाध्यक्ष शेरचनको भनाइ छ ।


क्लिकमान्डु