धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीले सोधे- पुँजी बजारमा देखिएका समस्या कसरी समाधान गर्ने ?



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच पुँजी बजारमा देखिएका समस्या कसरी समाधान गर्ने विषयमा छलफल भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री महतले पुँजी बजार चलायमान बनाउन सरकारले तत्काल गर्नु पर्ने निर्णयका विषयमा हमालसँग सुझाव मागेका थिए ।

‘अहिले पुँजी बजारमा समस्या छन् भनिएको छ, सरकारले कस्तो निर्णय गर्दा अहिले देखिएको समस्या समाधान हुन सक्छन्,’ मन्त्री महतले बोर्ड अध्यक्ष हमाललाई सोधे,‘धितोपत्र बोर्ड, मन्त्रालय, लगानीकर्ता सबै पक्ष मिलेर पुँजी बजारका समस्या समाधान गर्नु पर्छ ।’

सोमबार पुँजी बजारका विषयमा छलफल भएपनि मंगलबार नेपाल धितोपत्र बोर्डले पुँजी बजारका क्षेत्रमा मन्त्रालयले गर्नु पर्ने कामका विषयमा बृहत् प्रस्तुति गर्ने भएको छ ।

‘मन्त्रीज्यूले तत्कालै सरकारले के के गर्नुपर्छ, दीर्घकालमा के गर्नु पर्छ भन्ने विषयमा चासो राख्नु भएको थियो,’ हमालले क्लिकमाण्डुसँग भने, ‘पुँजी बजार सुधारका लागि सरोकारवाला निकायले के गर्ने भन्ने विषयमा भोलि फेरी छलफल गर्ने भएका छौं ।’

सोमबार नै अर्थमन्त्री महतले पुँजी बजारका लगानीकर्ताको संगठनसँग पनि छलफल गरेका थिए । लगानीकर्ताले मन्त्री महतलाई ८१ बुँदे सुझाव दिएका छन् । लगानीकर्तासाग भेटेलगत्तै मन्त्री महतले बोर्ड अध्यक्ष हमालसँग भेटेका हुन् ।

त्यस्तै, सोमबार नै अर्थमन्त्री महतले बैंकर्स संघका पदाधिकारीसँग पनि भेटघाट गरेका छन् ।


क्लिकमान्डु