चट्टान तथा पहिरोको बीचमा चौपायाले टेकेको पाइलामा पाइला मिलाएर हिँड्न बाध्य बझाङी



बझाङ । चट्टा नै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आङै सिरिङ्ग हुने । त्यही बाटोमा भारी बोकेर यात्रा गर्छन्, बझाङको तलकोट गाउँपालिका-२ रूवातोलाका गोविन्द बोहरा । उनी हरेक महिना ६-७ पटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्छन् ।

भारी बोकेरै जीविकोपार्जन गर्ने उनलाई सरकारले रोजगारी दिएन भन्ने गुनासो छैन । सरकारले बाटो मात्रै बनाइदिए उनलाई पुग्छ । ‘जीविकोपार्जनकै लागि साइपालको भारी बोक्नुपर्छ,’ बोहराले भने, ‘साइपालमा भारी बोकेर जान सबैभन्दा समस्या यही बाटोमा हुन्छ । पालिकाले रोजगारी नदिए पनि बाटो मात्रै बनाइदिए हामीलाई ठूलो राहत हुने थियो ।’

रूपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन । चट्टान तथा पहिरोको बीचमा चौपायाले टेकेकै पाइलामा पाइला मिलाएर यात्रा गरेको बोहराले ५ वर्ष भइसक्यो । मानवबस्तीको सबैभन्दा अन्तिम गाउँ साइपालको न्यूना, बलौडी तथा धुलीका लागि पिठ्युँमा भारी बोक्दै हिँड्ने उनलाई सबैभन्दा कठिन यात्रा कालडाँडासम्मै लाग्छ ।

कालडाँडादेखि किर्किट्यासम्मको दूरी करिब २५ किलोमिटर छ । ‘यो बाटोमा संयमता नअपनाए कोही पनि फर्केर आउन सक्दैन,’ बोहराले भने, ‘भारी पिठ्युँमा बोकेर एकछिन पनि पर्खन सकिन्न । माथिबाट ढुंगा खस्ला भन्ने डर, तल खुट्टा चिप्लिने सम्भावना उत्तिकै । संयोगवस अहिलेसम्म दुःखद खबर भएको छैन,’ उनले भने ।

बोहराका अनुसार रूपातोलाको किर्किट्याबाट भारी बोकेर कालडाँडा पुग्न १२ घण्टा समय लाग्छ । ‘कालडाँडा तलको खोला (ठूले खोला) सम्म पुग्नै साढे ५ घण्टा लाग्छ । त्यसपछि उकालै-उकालो । त्यो यात्रा पार गरेपछि भने अब बाँचिन्छ जस्तो लाग्छ,’ उनी भन्छन् ।

गैरीडाँडामा भेटिए, रूपातोलाका दीपक बोहरा । गैरीडाँडा कालडाँडा र ठूले खोलाको बीचमा पर्छ । उनी साइपालको न्यूनामा बन्दै गरेको एक घरको रडसहित सामान बोकेर आएका रहेछन् । कालडाँडा पुग्न अझै साढे दुई घण्टा लाग्छ । ‘जोखिम बाटोको बढी भाग त काटेँ,’ दीपक भन्छन्, कालडाँडा पुगेपछि भने साइपाल पुगेजस्तै हुन्थ्यो ।’

दीपकले भनेजस्तै कालडाँडा पुग्दैमा साइपाल पुगिँदैन । उनले सजिलो बाटो भएकाले साइपाल पुग्न सहज हुन्छ भन्न खोजे । साइपालको न्युना गाउँ पुग्न कालडाँडाबाट झन्डै १० घण्टा उकालो-ओरालो हिँड्नुपर्छ । ‘साइपालले फराकिलो बाटो बनाएको हुँदा जता पनि भारी बिसाउन सकिन्छ । आराम गर्दै साइपाल पुग्न हिँड्ने बाटोको समस्या हुँदैन,’ उनले भने ।

दीपक हरेक महिना ४-५ पटक त्यो बाटो ओहोरदोहोर गर्छन् । धुलीसम्म नै पिठ्युँमा भारी बोकेर परिवारको गुजारा गर्छन् । उनी भन्छन्, ‘तीन-चार दिनको यात्रा गरेर धुलीसम्म पुर्‍याएको सामानको ज्यालाले परिवार पाल्नुपर्छ । त्यो चोखो हाम्रो पसिनाको कमाइ हो । त्यसमा कुनै गन्ध मिसिएको हुँदैन ।’ उनी भारी बोकेकै पैसाबाट सरकारलाई कर तिरिरहेको तर आफूलाई बाटोसमेत नदिएको गुनासो गर्छन् ।

रूपातोलाका महादेव जोशी पुजारी हुन् । उनका जजमान साइपालमा छन् । पूजाआजा हुने साइतदेखि औँसी पूर्णिमाकोा दिन जोशी साइपाल पुग्नुपर्छ । न्युना र बलौडीमा पूजाआजाका लागि जोशीले अघिल्लै दिन घरबाट निस्कनुपर्छ । ‘पूजाआजाका लागि रित्तै आउनुपर्ने हुँदा अरूको जस्तो समस्या मैले भोगेको छैन,’ उनी भन्छन्, ‘भारी बोकेर आउनेहरूलाई त बाटो ‘काल’ जस्तै हो । सरकारले बाटोको लागि वास्तै गर्दैन ।’

किर्किट्या-गैरीडाँडा-कालडाँडा बाटो हिँड्ने तलकोटको रूपातोलाबासी मात्रै होइन, साइपालको न्युना र बलौडीबासी पनि नियमित ओहोरदोहोर गर्छन् । ‘माथिबाट तलकोटको क्षेत्रमा पनि करिब तीन घण्टा लाग्ने बाटो साइपालले काटेको छ,’ न्युनाका प्रदीप बोहराले भने, ‘तलको भाग तलकोटले काटिदिएमा सबैलाई सहज हुन्थ्यो ।’

लेकको ठाउँ त्यसैमा जोखिम बाटोले सबैलाई जोखिम भएको उनले बताए । ‘घरबाट निस्कनेबित्तिकै किर्किट्या-गैरीडाँडा-कालडाँडा बाटोको यात्रा सफल होस् भनेर परिवारले पुकार गर्छन्,’ उनले भने, ‘बर्खायाममा तलकोट-साइपाल यात्रा नै बन्द हुन्छ । काँडा भएर जान ६ दिन पैदल यात्रा गर्नुपर्छ । त्यसैमा कहिलेकाहीँ खोला बढेर जानै सकिँदैन ।’ हिउँदमा यही चट्टानको बाटोबाट बोकेको खाद्यदेखि अन्य दैनिक प्रयोग हुने सामानबाट गुजारा गर्नुपर्ने उनले बताए ।

तलकोटको सिमाना काउल्यासम्म हो । काउल्यादेखि कालडाँडा पुग्न झन्डै ५ घण्टा समय लाग्छ । त्यो बाटो सबै साइपाल गाउँपालिकाले काटेको छ । तलकोट गाउँपालिकालाई बाटोका लागि धेरै प्रयास गर्दा पनि सुनुवाइ नभएको गोविन्दले    बताए । ‘दुई-चार जना गएर त्यो बाटो काटिँदैन,’ उनले भने, ‘पालिकाले बजेट विनियोजन गरेमा सबैलाई ढुक्कले हिँड्ने बाटो बनाउन सकिन्थ्यो ।’

बोहराका अनुसार यस बाटोका लागि अघिल्लो सरकारले पनि वास्ता गरेन । ‘यस वर्ष पनि धेरै भन्यौँ, वडासँग जहिल्यै झगडा पर्छ । बाटोका लागि कुनै सरकारले चासो देखाउँदैनन्,’ उनले भने ।

गाउँपालिका अध्यक्ष कलकबहादुर रोकाया भने बोहराको आरोप अस्वीकार गर्छन् । उनी भन्छन्, ‘म पालिकामा आएदेखि नै त्यो बाटोको लागि कार्यपालिकामा निर्णय गराएको हुँ । डेढ लाख रूपैयाँ छुट्याएका छौँ । अब विस्तारै काम हुनेछ । आवश्यकताअनुसार बजेट पनि थप्नेछौँ ।’

पालिकामा नयाँ सरकार बनेको अब एक वर्ष पुग्दैछ । तर, बाटो खन्ने तयारीसमेत नभएको हुँदा अध्यक्षको कुरा पत्याउन नसकिने स्थानीय कलकबहादुर बोहोरा बताउँछन् । ‘हामी जहिल्यै पालिकामा जाँदा ‘अब बन्छ’ भन्ने आश्वासन मात्रै दिनुहुन्छ । अहिलेसम्म बाटोका लागि केही भएको छैन । अब यो आर्थिक वर्षसम्म आशा गरौँ केही हुन्छ कि !’ उनी भन्छन् ।

(भूमिराज पिठातोली/रासस)


क्लिकमान्डु