विश्वभर २३ हजार ८० क्रिप्टोकरेन्सी, बिटक्वाइनको मूल्य निरन्तर उकालो



एजेन्सी । बिटक्वाइन र इथेरम हुँदै डजक्वाइन र टेथरसम्म आइपुग्दा अहिले विश्वमा हजारौं किसिमका क्रिप्टोकरेन्सी सार्वजनिक भइसकेका छन् । धेरै क्रिप्टोकरेन्सी हुँदा कुन क्रिप्टोकरेन्सी कस्तो हो भन्ने विषयमा जानकारी लिनसमेत असहज हुँदै गएको छ ।

तर, अस्तित्वमा हजारौं क्रिप्टोकरेन्सी रहे पनि शीर्ष स्थानमा निश्चित मात्रै छन् । मूल्य र पारदर्शिताजस्ता कुराले यी क्रिप्टोकरेन्सीलाई चर्चामा राखेको छ ।

केन्द्रीय बैंक वा कुनै नियामकबिना नै परिचालन हुने विद्युतीय मुद्रा क्रिप्टोकरेन्सी हुन् । हालको मितिसम्म आइपुग्दा कुल २३ हजार ८० वटा क्रिप्टोकरेन्सी सार्वजनिक भइसकेका छन्, जसको बजार मूल्य १ हजार ३१३.५२२ खर्ब (१ ट्रिलियन अमेरिकी डलर) भन्दा बढी छ ।

बजारमा रहेका क्रिप्टोकरेन्सीमध्येमा पनि केहीको मूल्य धेरै छ । यहाँ हामीले त्यस्तै १० क्रिप्टोकरेन्सीको बारेमा चर्चा गरेका छौं, जुन सन् २०२३ मा सबैभन्दा शीर्ष स्थानमा छन् ।

बिटक्वाइन

क्रिप्टोकरेन्सीलाई चर्चामा ल्याउने श्रेय बिटक्वाइनलाई दिँदा फरक पर्दैन । सन् २००९ मा सुरु भएको विद्युतीय मुद्राले विश्वभर क्रिप्टोकरेन्सीलाई चर्चित बनाएको हो । यसको सुरुवात कसले गर्‍यो भन्ने जानकारी हालसम्म पनि छैन तर यसका संस्थापक सतोषी नाकामोटो हुन् भनिन्छ । तर, सतोषी नाकामोटो को हुन् भन्ने विषयमा भने कुनै जानकारी छैन ।

सबैजसो क्रिप्टोकरेन्सी जस्तै बिटक्वाइन पनि ब्लकचेन प्रविधिमा सञ्चालन हुन्छ । अर्थात् कारोबारलाई हजारौं कम्प्युटरमा वितरण गरेर त्यसलाई प्रमाणित गरिन्छ । यसो गर्दा बिटक्वाइन सुरक्षित र ठगी हुनसक्ने सम्भावनाबाट पनि बच्छ ।

क्रिप्टोकरेन्सीकै पर्यायको रुपमा रहेकाले बिटक्वाइनको मूल्य आकाश छुने किसिमले अघि बढेको छ । सन् २०१६ मा ५ सय अमेरिकी डलरमा पाइने एक बिटक्वाइनलाई यो वर्ष मार्च २८ को मूल्यअनुसार २६ हजार ८८६ अमेरिकी डलर पर्छ ।

यो पनि घटेको मूल्य हो । २०२१ नोभेम्बरमा यसको मूल्य ६४ हजार ४ सय डलरसम्म पुगेको थियो । हाल बिटक्वाइनको बजार पुँजीकरण ६८२.६४ खर्ब (५१९.७ बिलियन अमेरिकी डलर) छ ।

इथेरम

क्रिप्टोकरेन्सी र ब्लकचेन दुवै सुविधायुक्त प्ल्याटफर्म भएकाले पनि इथेरम निकै चर्चित छ । इथेरम मुख्य गरी प्रोग्राम डेभलपर्सहरुमा चर्चित छ किनकि यसबाट एनएफटीको खरिद तथा बिक्रीका लागि आवश्यक कार्य गर्न सहज हुन्छ ।

२१२.१ बिलियन अमेरिकी डलर बजार पुँजी भएको इथेरमको वृद्धि पनि निकै नै धेरै छ । सन् २०१६ को अप्रिलमा सुरु हुँदा एक इथेरमको मूल्य ११ अमेरिकी डलर थियो । २०२३ मार्चमा १ हजार ७३४ अमेरिकी डलर पुगेको छ ।

टेथर

अन्य क्रिप्टोकरेन्सीभन्दा फरक रहेको टेथर स्टेबल क्वाइन हो । यसलाई अमेरिकी डलर वा युरोजस्ता मुद्रालाई आधार मानेर बनाइएको छ । टेथरको मूल्य पनि यी मुद्राको अवस्थाकै आधारमा तय भइरहेको हुन्छ । अन्य क्रिप्टोकरेन्सीको तुलनामा टेथर बढी स्थिर हुने मानिन्छ । धेरै लगानीकर्ताले पनि अमेरिकी डलर र युरोमा आधारित भएर सञ्चालन गरिएका कारण टेथरलाई मन पराउने गरेका छन् ।

हाल टेथरको बजार पुँजीकरण ७९.४ बिलियन अमेरिकी डलर छ ।

बाइनेन्स क्वाइन

४८.९ बिलियन अमेरिकी डलर बजार पुँजीकरण रहेको बाइनेन्स क्वाइन क्रिप्टोकरेन्सीकै एक प्रकार हो, जसको प्रयोग बाइनेन्समा कारोबार गर्न वा शूल्क तिर्न गरिन्छ । बाइनेन्स विश्वकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज प्ल्याटफर्म हो ।

सन् २०१७ मा सुरुवात भएयता बाइनेन्स क्वाइनको विस्तार बाइनेन्समा कारोबार गर्न मात्रै नभएर अन्य क्षेत्रमा पनि हुन थालेको छ । अहिले बाइनेन्स क्वाइनको प्रयोग गरेर यात्राका लागि आवश्यक टिकट बुक गर्नेदेखि बिटक्वाइन वा इथेरमजस्ता अन्य क्रिप्टोकरेन्सीसँग पनि साट्न सकिन्छ ।

सन् २०१७ मा सुरुवात हुँदा एक बाइनेन्स क्वाइनको मूल्य ०.१० अमेरिकी डलर थियो । सन् २०२३ को मार्चमा यसको मूल्य ३१० अमेरिकी डलर पुगेको छ ।

यूएस डलर क्वाइन (यूएसडीसी)

टेथरजस्तै यूएसडीसी पनि स्टेबल क्वाइन हो । यसलाई अमेरिकी डलरका आधारमा निर्माण गरिएको हो । ३३.४ बिलियन अमेरिकी डलर बजार पुँजीकरण रहेको यूएसडीसी प्रायः १ अमेरिकी डलरबराबर रहेको हुन्छ ।

इथेरमको प्रविधिबाट सञ्चालित यूएसडीसी विश्वव्यापी लेनदेन पूरा गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

एक्सआरपी

कारोबारसम्बन्धी काम गर्ने प्राविधिक कम्पनी रिप्पलकै संस्थापकहरुले सुरु गरेको एक्सआरपी विभिन्न किसिमका ‘फैट’ मुद्राहरु वा अन्य क्रिप्टोकरेन्सीमा रुपान्तरण गर्न सकिने किसिमको हुन्छ । फैट मुद्रा भनेको मुद्राकै एक प्रकार हो, जसलाई सरकारले कानुनी टेन्डरको रुपमा घोषित त गरेको हुन्छ ।

तर, यसको कुनै आन्तरिक वा निश्चित मूल्य हुँदैन र यसलाई कुनै ठोस सम्पत्तिले समर्थन पनि गरिरहेको हुँदैन । यस्ता मुद्रा भनेको सुन वा चाँदीजस्तै किसिमका मुद्राको रुपमा सरकारले स्वीकारेका वस्तु हुन् ।

सन् २०१७ मा सुरु हुँदा एक एक्सआरपीको मूल्य ०.००६ अमेरिकी डलर थियो । सन् २०२३ मार्चमा आइपुग्दा यसको मूल्य ०.५० अमेरिकी डलर पुगेको छ । एक्सआरपीको बजार पुँजी अहिले २५.६ बिलियन अमेरिकी डलर छ ।

कारडानो

क्रिप्टोकरेन्सीको दुनियाँमा पछि मात्रै सुरु भएको भए पनि कारडानोको चर्चा उत्तिकै छ । बिटक्वाइनजस्ता अन्य क्रिप्टोकरेन्सीले कारोबारलाई प्रमाणित गर्न विद्युतीय ऊर्जाको धेरै प्रयोग गर्ने र वातावरणमा क्षति पुर्‍याउने कुरालाई ध्यानमा राख्दै कारडानोले कम ऊर्जाको प्रयोगमा नै कारोबारलाई पूर्णता दिने प्रविधिलाई अवलम्बन गरेको छ ।

इथेरमको प्रविधिलाई प्रयोग गरेर यो मुद्रा सञ्चालित छ । सन् २०१७ मा सुरु हुँदा ०.०२ अमेरिकी डलर रहेको एक कारडानोको मूल्य सन् २०२३ मार्चमा ०.३५ अमेरिकी डलर छ । यसको बजार पुँजी १२.२ बिलियन छ ।

डजक्वाइन

डजक्वाइनको सुरुवात सन् २०१३ मा एउटा मजाकको रुपमा भएको थियो । तर, कालान्तरमा यसलाई गम्भीर रुपमा लिएर क्रिप्टोकरेन्सीको रुपमा नै विस्तार गर्दै लगियो । यसको वरिपरि रहेका व्यक्ति र यसबारे बनेका सिर्जनात्मक ‘मिम’हरुका कारण यो क्रिप्टोकरेन्सीको क्षेत्रमा निकै अघि पुगेको छ ।

अन्य क्रिप्टोकरेन्सीजस्तो यसमा कति संख्यामा डजक्वाइन बनाउने भन्ने संख्या निश्चित गरिएको छैन । जसकारण यो क्रिप्टोकरेन्सीको वितरण बढी हुँदा यसको मूल्य घट्ने भइरहन्छ ।

९.६ बिलियन अमेरिकी डलर बजार पुँजीकरण रहेको डजक्वाइनको मूल्य सन् २०१७ मा ०.०००२ अमेरिकी डलर प्रतिक्वाइन थियो । अहिले ०.०७ प्रतिक्वाइन पुगेको छ ।

पोलिगोन

सन् २०१७ मा सुरुवात भएको पोलिगोनलाई यसअघि म्याटिक नेटवर्कको नामले चिनिन्थ्यो । सुरुवात भएयता पोलिगोनले निकै राम्रो वृद्धि पाएको छ ।

सन् २०१७ मा म्याटिकको रुपमा सुरु हुँदा यसको प्रतिक्वाइनको मूल्य ०.००२६३ अमेरिकी डलर थियो । अहिले यसको मूल्य १.०५ अमेरिकी डलर पुगेको छ । पोलिगोनको बजार पुँजीकरण भने डजक्वाइनको जस्तै ९.६ बिलियन अमेरिकी डलर छ ।

बाइनेन्स यूएसडी (बीयूएसडी)

बाइनेन्स यूएसडी (बीयूएसडी) बाइनेन्स र पेक्सोजले मिले सुरु गरेको स्टेबल क्वाइन हो, जसको मूल्य अमेरिकी डलरका आधारमा हुन्छ । यो अनुपातलाई मिलाइरहनका लागि कुल बीयूएसडीको संख्या नै जति रकम अमेरिकी डलरमा पेक्सोजसाग रहेको हुन्छ । यसको बजार पुँजी हाल ७.८ बिलियन अमेरिकी डलर छ ।

(क्रिप्टोकरेन्सीको मूल्य मार्च २८ का आधारमा उल्लेख गरिएको हो ।)


क्लिकमान्डु