विराटनगरको राजस्व संकलन सुधारोन्मूख



विराटनगर । पछिल्लो समय आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलनमा सुधारउन्मूख देखिएको छ । यस आर्थिक वर्षको फागुन महिनामा भएको राजस्व संकलनको तथ्यांकले सो कार्यालयको राजस्व संकलनमा सुधार देखाएको हो ।

त्यस्तै, यस आर्थिक वर्षको मंसिर, पुस, माघको तुलनामा फागुन महिनामा राजस्व संकलनमा सुधार भएको बताइएको छ ।

सो कार्यालयले चालू आर्थिक वर्षको फागुन महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले फागुन महिनामा ६० करोड ८९ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्यभन्दा बढी ६४ करोड ५७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो तथ्यांक लक्ष्यभन्दा १ सय ६ प्रतिशत बढी हो ।

कार्यालयका करअधिकृत डा डीबी क्षेत्रीका अनुसार, कार्यालयले गत आर्थिक वर्षको फागुन महिनामा ५६ करोड ९१ लाख १७ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा कम ४६ करोड ५१ लाख ९८ हजार रुपैयाँमात्र राजस्व संकलन गरेको थियो । लक्ष्यभन्दा कम १० करोड रुपैयाँ कम अर्थात ८१ दशमलव ७२ प्रतिशत राजस्व संकलन गरेको थियो ।

चालू आर्थिक वर्षको फागुन महिनामा आयकर तर्फको राजस्व संकलन सबैभन्दा धेरै भएको छ । यस महिनामा १२ करोड ४६ लाख २७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा ८ करोड ८६ लाख ६९ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । अर्थात १ सय ७१ प्रतिशत बढी राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, गत आर्थिक वर्षको फागुन महिनामा आयकरतर्फ १९ ककरोड ३४ लाख ४ हजार १ सय रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । सो लक्ष्यभन्दा कम १७ करोड २ लाख ८० हजार ७ रुपैयाँ अर्थात ९६ दशमलव १ प्रतिशत राजस्व संकलन भएको थियो ।

चालू आर्थिक वर्षको फागुन महिनामा मूल्य अभिवृद्धि करसम्बन्धी राजस्व संकलन भने घटेको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ १९ करोड ४ लाख २९ हजार रुपैयाँ लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा कम १८ करोड ३६ लाख ६० हजार रुपैयाँमात्र संकलन गरेको हो । लक्ष्यको तुलनामा यो ९६ दशमलव ५५ प्रतिशत मात्र हो ।

गत आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर १ सय १ दशमलव ५६ प्रतिशत अर्थात १५ करोड ५८ लाख ५७ हजार २ सय रुपैयाँ उठेको थियो । यो लक्ष्यभन्दा बढी हो ।

त्यस्तै, अन्तःशुल्क करतर्फ २८ करोड ४५ लाख ९० हजार रुपैयाँ कर संकलनको लक्ष्य राखेको थियो । त्यसमध्ये २४ करोड ४१ लाख ६० हजार रुपैयाँ अर्थात ८५ दशमलव ७९ प्रतिशत कम राजस्व संकलन भएको हो ।

यस वर्षको तुलनामा गत आर्थिक वर्षमा अन्तः शुल्क करतर्फ २० करोड ९८ लाख ४ हजार ७ सय रुपैयाँ कर संकलनको लक्ष्य राखेको थियो । त्यसमध्ये ११ करोड ९२ लाख १ हजार २ सय रुपैयाँ अर्थात ५६ दशमलव ८२ प्रतिशत राजस्व संकलन भएको थियो ।

कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा कूल १० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको प्रमुख अधिकृत क्षेत्रीले बताए । लक्ष्यमध्ये ४ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो । चालू आर्थिक वर्षको मंसिर, पुस र माघ महिनाभन्दा बढी राजस्व फागुन महिनामा संकलन भएको कार्यालय प्रमुख अधिकृत डा क्षेत्रीको भनाइ छ ।

सो कार्यालयले मूल्य अभिवृद्ध,अन्तःशुल्क,,बहाल, व्याज लाभ, शिक्षा सेवा, स्वास्थ्य सेवाजस्ता फरक फरक प्रकृतिका करहरु संकलन गर्ने गरेको छ ।

यस वर्षजस्तो गत वर्ष आर्थिक वर्षमा देशमा तरलताको अवस्था थिएन । त्यस्तै आयात सामग्री भएको प्रतिबन्ध, भारतको मीरगञ्ज पुल समयमै चालू नहुनु आदि कारणले यसपटक राजस्व संकलनको लक्ष्यभन्दा कम भएको बताइएको छ ।


क्लिकमान्डु