गाउँलेको स्ट्रेचरको विकल्प बन्दै एम्बुलेन्स सेवा



भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर, जहाँ बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन स्ट्रेचर बढी प्रयोग हुन्थ्यो ।तर अहिले भने जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत सो समस्या हट्दै जान थालेको छ ।

स्थानीय तहहरूले समेत दुर्गमका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्सको व्यवस्थापन गर्न थालेसँगै यो समस्या हट्दै जान थालेको हो । स्थानीय तहहरूमा जनप्रतिनिधि आएसँगै क्रमिकरूपमा नागरिकलाई पनि स्वास्थ्य उपचारका लागि पहुँच पुग्दै गएको भोजपुर नगरपालिका-७ का अध्यक्ष जयबहादुर तामाङको भनाइ छ ।

भोजपुरमा हाल जिल्ला अस्पतालका साथै भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिकालगायत सबैमा अहिले एम्बुलेन्स सेवा सञ्चालनमा छ । विगतमा जस्तो बिरामीहरूलाई अस्पताल पुर्याउन अहिले जिल्लाका ग्रामीण क्षेत्रहरूमा पनि समस्या छैन।

भोजपुर नगरपालिकाले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन ठाउँअनुसारको शुल्क निर्धारण गरेर सेवा दिँदै आइरहेको छ । भोजपुर-८ का अध्यक्ष नवीन प्रधानले विगतमा सडकको पहुँच पनि नहुनु र स्थानीय तहहरूमा समेत साधनको व्यवस्थापन हुन नसक्दा दुर्गमका नागरिक सबै न्दा बढी मर्कामा रहे पनि अहिले गाउँबाट स्ट्रेचरको विकल्प एम्बुलेन्स बन्न थालेको बताए ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले पनि रेडक्रस उपशाखा अन्नपूर्णलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रस उपशाखा अन्नपूर्णको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान र पालिकाको आर्थिक सहयोगमा खरिद भएको एम्बुलेन्स पालिकाले रेडक्रसलाई हस्तान्तरण गरेको हो ।


क्लिकमान्डु