‘प्रधानमन्त्रीज्यू ! दर्शक अट्ने रंगशाला चाहियो’



कीर्तिपुर । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, ‘प्रधानमन्त्रीज्यू ! दर्शक अट्ने रंगशाला चाहियो ।’

दर्शकले क्रिकेट हेर्न कीर्तिपुर पुगेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका नेता रघुजी पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीदेखि कांग्रेस नेता प्रदीप पौडेलसम्म अट्ने रंगशाला चाहिएको अनुरोध गरे । प्रधानमन्त्री दाहालसँगै भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पनि देखेपछि दर्शकले फेरि भन्न थाले, ‘दिदी ! रंगशाला चाहियो ।’

नेपाली क्रिकेट इतिहासकै महत्त्वपूर्ण जित हासिल भएको खेलमा नेपालविरुद्ध कुनै देशले बनाएको सबैभन्दा ठूलो योगफलमात्र होइन, दर्शकको उपस्थिति पनि ऐतिहासिक भन्न लायक थियो ।

आयोजकहरूका अनुसार ११ हजार वटा टिकट बिक्री अघिल्लो दिन नै भएको थियो । तर, टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन् । टिकट खरिदकर्ता र सञ्चारमाध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेटमा खेल सुरु हुँदा नहुँदै अत्यधिक चाप भएपछि प्रहरीले गेट नै बन्द गरिदिएको थियो ।

परिणामस्वरूप धेरै क्रिकेट प्रेमी रंगशालावरिपरिका अग्ला स्थान र रुखमा समेत चढ्न बाध्य भएका थिए । सँगैको आयुर्वेद विभागको छतसमेत भरिएको थियो । भीड बढ्दै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो । त्यसपछि केहीबेर नाराबाजी पनि भयो ।

‘यो अवस्थाले कीर्तिपुर रंगशालाको संरचनालाई जतिसक्दो ठूलो बनाउनुपर्ने देखियो,’ खेल हेर्न पुगेका नेपाली कांग्रेसका नेता प्रदीप पौडलले भने ।

खेलमा जितसँगै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । तर, देशमा अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला छैन भन्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी बताउँछन् । ‘एउटा भन्नु त्यही त्रिवि रंगशाला छ जहाँ प्यारापिट छैन, राति र दिनमा पनि खेलाउन सकिने फ्लड लाइटहरु छैनन् र चाहेजति दर्शकलाई खेल देखाउन पनि सक्दैनौँ,’ क्यानका सचिव दीर्घराज पाठकले भने ।

उनका अनुसार अहिलेको रंगशालामा थोरै सुधार गर्ने हो भने पनि झन्डै २० हजार दर्शक अटाउन सक्छन् । आज भने ११ हजार टिकट मात्र बिक्री गरिएको उनले बताए ।

क्यानले यसबारे सरकारलाई धेरै पटक ध्यानाकर्षण गराइसकेको जानकारी पनि पाठकले दिए । ‘स्रोत अभावका कारण चाहेर पनि धेरै गर्ने सक्ने अवस्था छैन । अर्कोतर्फ त्रिविको स्वामित्व भएको जमिनमा केही गर्न उसको पनि सहमति चाहिन्छ,’ उनको भनाइ छ ।

त्रिविबाहेक उपत्यकामा मूलपानीलगायतका स्थानमा रंगशाला र बाहिरका रंगशालालाई पूर्ण क्षमतामा चलाउन नसक्दासम्म नेपाली क्रिकेटको व्यवस्थापन राम्रो हुन सक्दैन ।


क्लिकमान्डु