
एजेन्सी । चीनले आफ्नो आगामी पाँच वर्षका लागि महत्त्वाकांक्षी पञ्चवर्षीय ऊर्जा योजना सार्वजनिक गरेको छ ।
हरित ऊर्जाको क्षेत्रमा विश्वव्यापी प्रभुत्व कायम राख्दै चीनलाई पृथ्वीकै सबैभन्दा बढी विद्युतीकरण भएको राष्ट्र बनाउनु यस योजनाको मुख्य उद्देश्य रहेको छ ।
चीनको राष्ट्रिय ऊर्जा प्रशासनले सार्वजनिक गरेको यस दस्तावेज अनुसार, आगामी पाँच वर्षभित्र देशको विद्युत् प्रणालीमा १५ सय गिगावाट नयाँ उत्पादन क्षमता थपिनेछ । यो क्षमता कतिपय विकसित देशहरूको कुल राष्ट्रिय क्षमताभन्दा पनि बढी हो । यसले चीनको बढ्दो औद्योगिक माग र घरायसी उपभोगलाई धान्ने अपेक्षा गरिएको छ ।
चीनले आफ्नो ऊर्जा मिश्रणमा नवीकरणीय ऊर्जाको हिस्सालाई ४२ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । यसको अर्थ अब चीनमा खपत हुने आधा बिजुली सौर्य, वायु र जलविद्युत् जस्ता स्वच्छ स्रोतबाट प्राप्त हुनेछ ।
यस कदमले चीनलाई सन् २०३० सम्ममा कार्बन उत्सर्जनको उच्च विन्दुमा पुग्न र सन् २०६० सम्ममा पूर्ण रूपमा कार्बन तटस्थ बन्ने आफ्नो विश्वव्यापी प्रतिबद्धता पूरा गर्न मद्दत गर्नेछ ।
नवीकरणीय ऊर्जाको उत्पादन स्थिर नहुने (घाम नलाग्दा वा हावा नचल्दा उत्पादन घट्ने) समस्यालाई सम्बोधन गर्न चीनले ऊर्जा भण्डारणमा ठूलो लगानी गर्ने भएको छ । योजना अनुसार, थप १३० गिगावाट भण्डारण क्षमता थप गरी देशको कुल भण्डारण क्षमता ५०० गिगावाट पुर्याइनेछ ।
साथै, दुर्गम क्षेत्रमा उत्पादित बिजुलीलाई औद्योगिक शहरहरूसम्म पुर्याउन ८० गिगावाट क्षमताको अल्ट्रा–हाई भोल्टेज ग्रिड पूर्वाधार निर्माण गरिनेछ । चीनको यो यूएचभी प्रविधिलाई विश्वकै सबैभन्दा उन्नत मानिन्छ । त्यसले लामो दूरीसम्म बिजुली लैजाँदा हुने चुहावटलाई न्यूनतम बनाउँछ ।
यातायात क्षेत्रलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यका साथ चीनले चार्जिङ स्टेशनहरूको संख्यामा भारी वृद्धि गर्ने भएको छ । हाल देशभर रहेका २ करोड चार्जिङ युनिटलाई दोब्बर बनाएर ४ करोड पुर्याइनेछ । यसले विद्युतीय सवारी साधन प्रयोगकर्ताहरूका लागि रेन्ज एन्जाइटी (चार्ज सकिने डर) अन्त्य गर्नेछ र पेट्रोलियम पदार्थमाथिको निर्भरतालाई थप घटाउनेछ ।
चीनले आफ्नो सम्पूर्ण अर्थतन्त्र र दैनिक जनजीवनमा म्यासिभ इलेक्ट्रिफिकेसन (व्यापक विद्युतीकरण) को नीति लिएको छ । खाना पकाउने, तताउने, यातायात र औद्योगिक कलकारखानाहरूमा कोइला र ग्यासको सट्टा बिजुलीको प्रयोगलाई अनिवार्य जस्तै बनाइँदैछ ।
विज्ञहरूका अनुसार, यो योजना सफलतापूर्वक कार्यान्वयन भएमा चीन प्रविधि र पूर्वाधारका हिसाबले विश्वकै सबैभन्दा बढी विद्युतीकरण भएको राष्ट्र बन्नेछ । यसले विश्वव्यापी जलवायु परिवर्तन विरुद्धको लडाइँमा मात्र नभई स्वच्छ ऊर्जा प्रविधिको आपूर्ति शृंखलामा पनि चीनको पकड अझ बलियो बनाउने देखिन्छ ।






प्रतिक्रिया