दाबी भुक्तानी बढी गर्ने बिमा कम्पनीप्रति सर्वसाधारणको विश्वास बढ्छ: सिलवाल



काठमाडौँ । बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीमा मर्जर समयको माग भएको बताएका छन् । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको  एकीकृत कारोबार कार्यक्रममा उनले नियामक निकायले जथाभावी निर्णय नगर्ने भएकाले धेरै अध्ययन, अनुसन्धान गरेर नै मर्जरमा अघि बढेको उनको भनाइ छ ।

नियामकले लिने नीति कम्पनीले मान्नैपर्ने उनले स्पष्ट पारे । कार्यक्रममा उनले नेपालको निर्जीवन बिमा कम्पनीमा पुँजीकोषतर्फ सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ठूलो कम्पनी भएकाले त्यही अनुसार व्यवसाय गर्न आग्रह गरेका छन् ।

संस्कार र भुगोल मिल्ने कम्पनी मर्ज हुनु आजको आवश्यकता भएको अध्यक्ष सिलवालले बताए । प्राधिकरणले सबैको हित हुने काम गर्ने र बिमाको विश्वसनीयता बढाउने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिले सरकारले पनि बिमाको महत्त्व निकै बुझेको छ,’ उनले भने, ‘कात्तिकमा बेमौसमी वर्षात हुँदा ९ अर्बको धानमा क्षति भयो, सरकारले अहिले त्यो धानको बिमा भएको भए असर कम हुने थियो भन्ने महसुस गरेको छ ।’

अध्यक्ष सिलवालले बिमाको दाबी भुक्तानी बढी गर्ने कम्पनीप्रति सर्वसाधारणको विश्वास बढ्ने भएकाले त्यही अनुसार व्यवसाय गर्न आग्रह गरे । त्यसका लागि इन्नोभेटिभ पोलिसी ल्याउन उनले कम्पनीहरुलाई निर्देशन दिए ।

प्राधिकरणले कम्पनीलाई खबरदारी पनि गर्ने र सहयोग पनि गर्ने स्मरण गराउँदै उनले भने, ‘अब खबरदारी गर्न नपरोस् ।’


क्लिकमान्डु