प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

प्रचण्डलाई पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका हुन् । मंगलबार दर्ता भएको रिटको शुक्रबारलाई पेसी तोकिएको छ ।

यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा प्रचण्डविरुद्धको रिट दरपिठ गरेको थियो । रिट दर्ता नभएपछि कानुन व्यवसायीले इजलासमा निवेदन दिएका थिए ।

जनुयुद्धका क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भन्ने प्रचण्डको केही वर्षअघिको भनाइविरुद्ध सर्वोच्चमा रिट पेस भएको थियो । तर सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि इजलासमा निवेदन पेस भएको थियो । इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।

के भनेका थिए प्रचण्डले ?

‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ । म तथ्यांक मात्रै सच्याउन चाहन्छु । साथीहरू यो सत्य होइन। यो सत्य होइन । सत्य के हो मलाई भन्न दिनुहोस् । सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन् । हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भनेका थिए ।

उनले सशस्त्र युद्धताका भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा भने आफूले लिने बताएका थिए । ‘तर म नगरेका कामको जिम्मा लिन्नँ,’ प्रचण्डको भनाइ थियो ।


क्लिकमान्डु