युद्धमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेका प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले अदालत प्रशासनलाई प्रचण्डविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो ।

प्रचण्डले ०७६ को माघीक अवसरमा खुलामञ्चमा आयोजित कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए ।

त्यसविरुद्ध अधिवक्ताहरु कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरण लगायत रिट लिएर सर्वोच्च पुगका थिए । तर सर्वोच्च प्रशासनले राजनीतिक प्रकृतिको भन्दै रिट दरपीठ (दर्ता नगर्ने निर्णय) गरेको थियो ।

दरपीठविरुद्ध निवेदकहरुले सर्वोच्चको इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार खतिवडा र फुयालको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो । उक्त रिटमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान र कारबाहीको माग गरिएको छ ।

के भनेका थिए प्रचण्डले ?

‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु । साथीहरू यो सत्य होइन। यो सत्य होइन । सत्य के हो मलाई भन्न दिनुहोस् । सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन् । हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भनेका थिए ।

उनले सशस्त्र युद्धताका भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा भने आफूले लिने बताएका थिए । ‘तर म नगरेका कामको जिम्मा लिन्नँ,’ प्रचण्डको भनाइ थियो ।

त्यतिबेला उनले रेशम चौधरीलाई छुटाइने बताएका थिए ।


क्लिकमान्डु