बुधबार किन बन्द भयो ट्विटर ?
काठमाडौं । बुधबार माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरको सेवा विश्वभर नै ठप्प भएको थियो ।
प्रयोगकर्ताहरुले आफ्नो टाइमलाइनमा कुनै ट्विट गर्न वा नयाँ ट्विट हेर्न पनि मिलिरहेको थिएन । ट्विटरमा यो समस्या दिउँसो साढे ३ बजेपछि देखिएको थियो ।
मुख्य गरि अमेरिका, बेलायत, जापान, भारतलगायतका विभिन्न देशमा प्रयोगकर्ताहरुले यो समस्या भोगेका थिए । ट्विटरको मोबाइल र डेक्सटप दुवै भर्जनमा ट्विटर चलेको थिएन् ।
पछिल्लो समय ट्विटरले आफ्ना कर्मचारीहरुलाई निरन्तर निकालिरहेको घटनासँग जोडेर प्रयोगकर्ताहरुले बुधबारको घटनालाई हेरेका छन् ।
ट्विटरले गत शनिबार मात्रै २ सय कर्मचारीहरुलाई निकालेको थियो । त्यसअघि कम्पनीमा भएका २ हजार कर्मचारीमध्येबाट १० प्रतिशत कर्मचारीलाई निकालिएको थियो ।
ट्विटरलाई विश्वका धनी अर्बपति एलन मस्कले गत अक्टोबरमा खरिद गरेपछि कम्पनीमा विभिन्न समस्याहरु पनि देखिएका छन् भने विभिन्न अपडेटहरु गरिएको छ । मुख्य परिवर्तन भने ट्विटरका कर्मचारीहरुको संख्यामा देखिन्छ ।
सुरुवातमा ७ हजार ५ सय कर्मचारी रहेकोमा अहिले ट्विटरमा १८ सय जना मात्रै कर्मचारी रहेका छन् ।
बुधबार अचानक ट्विटर बन्द हुनुभन्दा अघि पाँच दिनअघि पनि ट्विटरमा समस्या आएको थियो । ट्विटरको टाइमलाइनमा गत शुक्रबार पनि समस्या देखिएको थियो ।
कम्पनीले यो विषयलाई लिएर हालसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । तर, विभिन्न सञ्चारमाध्यममा उल्लेख भएअनुसार ट्विटरको इन्टरनल सर्भसमा नै समस्या भएका कारण पछिल्लो समय बेला बेला ट्विटर बन्द भइरहेको हो ।