फोरजीलाई व्यवस्थित गरेर मात्रै फाइभजीमा प्रवेश गर्नुपर्छ: सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजीलाई व्यवस्थित गरेर मात्रै फाइभ जीमा प्रवेश गर्नुपर्ने बताएकी छन् । प्रविधि पत्रकार समाजले आयोजना गरेको ‘फाइभजीका चुनौती र आगामी बाटो’ विषयक छलफल कार्यक्रममा उनले फाइभजी आवश्यक र नयाँ प्रविधि भए पनि चुनौतीपूर्ण रहेको धारणा राखिन् ।
विश्वका धेरै देशको तुलनामा प्रविधिमा निकै पछाडि भएको नेपालको भौगलिक तथा वर्गीय धरातललाई हेरेर मात्रै प्रविधिको विकास गर्नुपर्ने उनको भनाइ छ । नेपालको आफ्नै स्रोत तथा साधन र जनशक्तिलाई हेरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको मन्त्री शर्माले बताइन् ।
‘नेपालमा फोरजी सञ्चालनमा आएको धेरै भइसकेको छ । तर, त्यसको गुणस्तरको अवस्था के छ त ? भन्ने विषयमा अध्ययन गर्न जरूरी छ,’ उनले भनिन्, ‘साथै, फोरजीको प्रयोगबाट देशले कति फाइदा लिइरहेको छ ? फाइभजीले आगामी दिनमा अर्थतन्त्रमा कसरी टेवा पुर्याउन सक्छ भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ ।’
अध्ययनबिना नै फाइभजीमा लगानी गरियो भने लाभभन्दा घाटा व्यहोर्नुपर्ने स्थिति आउन सक्नेतर्फ उनले सचेत गराइन् । नेपालको भौगलिक अवस्थाका कारण अहिले पनि अधिकांश क्षेत्रमा फोन लाग्दैन ।
नयाँ प्रविधिमा प्रवेश गर्ने तर सञ्चालनमा रहेको प्रविधिको गुणस्तरमा ध्यान नदिने हो भने देशले लाभ लिन नसक्ने उनको तर्क छ । सरकारले पनि जहाँ फाइदा हुन्छ, त्यसमा मात्रै लगानी गर्ने उनले स्पष्ट पारिन् ।
प्रविधिको विकास गरी देशको तथ्यांक कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि गम्भीर भएर सोच्न आवश्यक रहेको मन्त्री शर्माले बताइन् । ‘अहिले प्रविधिको विकासले विभिन्न क्षेत्रमा आक्रमण गरिरहेको छ,’ उनले भनिन्, ‘त्यसैले प्रविधिको प्रयोग गरेर हाम्रो डाटा कसरी सुरक्षित राख्नेमा विशेष ध्यान दिनुपर्छ ।’