जीवन बीमा कम्पनीका कर्मचारीको बोनस ७०.१५ प्रतिशतले बढ्यो, कुनको कति ? (सूचीसहित)



काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीले पाउने बोनस रकम ७०.१५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको नाफाबाट जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि ३६ करोड रुपैयाँ भन्दा धेरै रकम छुट्याएका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीले आर्जन गरेको मुनाफाबाट कर्मचारी बोनस व्यवस्थाका लागि ३६ करोड २ लाख ३७ हजार रुपैयाँ छुट्याएका हुन् । जुन गत आवको यसै अवधिको तुलनामा ७०.१५ प्रतिशतले धेरै हो ।

गत आवको सोही अवधिमा यी कम्पनीहरुले कर्मचारी बोनस व्यवस्था शिर्षकमा २१ करोड १७ लाख १७ हजार रुपैयाँ रकम छुट्याएका थिए ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएपछि साधारणसभा सम्पन्न गरि कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्ने गर्छन् । जसका लागि कम्पनीहरुले त्रैमासिक रुपमा उक्त रकम छुट्याएका हुन्छन् ।

जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपी बीमाङ्कीय मूल्याङ्कन अघिको वित्तीय विवरणलाई आधार मानेर हेर्दा सबै जीवन बीमा कम्पनीको नाफा बढेको छ ।

सबै कम्पनीहरुको नाफा बढेसँगै कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम समेत बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्दा कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम ०.२६ प्रतिशतदेखि ३४०.९३ प्रतिशतसम्मले बढेको छ ।

सर्वाधिक नाफा कमाउने सूचीमा परेका सन नेपाल लाइफ र नेपाल लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम समेत धेरै प्रतिशतले बढाएका छन् ।

चालु आवको ६ महिनामा कर्मचारी बोनसका लागि धेरै रकम नेपाल लाइफले छुट्याएको छ । इन्स्योरेन्सले यस अवधिमा ५ करोड ९४ लाख ६८ हजार रुपैयाँ छुट्याएको हो ।

समीक्षा अवधिमा कम्पनीका कर्मचारीले पाउने बोनस १६९.४९ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड २० लाख ६७ हजार रुपैयाँ छुट्याएको थियो ।

नेपाल लाइफपछि सन नेपाल लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि ३ करोड ९३ लाख ३१ हजार रुपैयाँ छुट्याएको छ । समीक्षा अवधिमा सन नेपालको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम ३४०.९३ प्रतिशतले बढेको हो ।

गत आवको सोही अवधिमा इन्स्योरेन्सले कर्मचारी बोनस व्यवस्थाका लागि ८९ लाख २० हजार रुपैयाँ मात्रै छ्ट्याएको थिाये ।

यस अवधिमा कर्मचारी बोनस व्यवस्थाका लागि सूर्याज्योतिले ३ करोड १५ लाख ७७ हजार रुपैयाँ, नेशनल लाइफले २ करोड ९० लाख ४९ हजार रुपैयाँ, एशियन लाइफले २ करोड १२ लाख ५३ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफले २ करोड २० लाख रुपैयाँ छुट्याएका छन् ।

यस्तै, समीक्षा अवधिमा प्रभु लाइफको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम १०७.२१ प्रतिशतले बढेर १ करोड ४२ लाख ५२ हजार रुपैयाँ, रिलायन्स लाइफको ११९.३७ प्रतिशतले बढेर १ करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

मेट लाइफले यस अवधिमा कर्मचारी बोनस व्यवस्थाका लागि १ करोड ८६ लाख, आइएमई लाइफले १ करोड ३० लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ३३ लाख रुपैयाँ, सानिमा लाइफले १ करोड २९ लाख रुपैयाँ, यूनियन लाइफले १ करोड ४ लाख ६१ हजार रुपैयाँ, प्राइम लाइफले १ करोड ९४ लाख रुपैयाँ र एलआइसी नेपालले १ करोड ५३ लाख रुपैयाँ छुट्याएका छन् ।


क्लिकमान्डु