गोर्खा डिपार्टमेन्ट स्टोरले एकै वर्ष गर्‍यो १ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । गोर्खा डिपार्टमेन्ट स्टोरले एकै वर्षमा १ अर्ब बढीको कारोबार गरेको छ । इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात डिपार्टमेन्ट स्टोरले सन् २०२२ मा १ अर्ब १३ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ५९ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । गोर्खा डिपार्टमेन्ट पूर्वी नेपालको पहिलो सुपरमार्केट स्टोर हो ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले घरयासी सम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको छ । देशको विभिन्न चार वटा सहरमा स्टोर सञ्चालन गर्दै आएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड ९६ लाख रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि १ अर्ब ८ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीको व्यापार कोभिडले गर्दा निकै खस्किएको थियो । तर, गत वर्ष भने कारोबार बढेको कम्पनीको भनाइ छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा ९०.७३ प्रतिशतले कारोबार बढ्दा ९.४८ प्रतिशतले नाफा कमाएको जनाएको छ । सन् २०२१ मा कम्पनीको कारोबार कम भएपनि नाफा भने २४.५६ प्रतिशतले कमाएको थियो ।

बलराम आचार्य खत्री र अन्जु आचार्य खत्रीको संयुक्त लगानी रहेको छ । हस्पिटालिटी, एग्रो प्रशोधन र व्यापारमा अनुभवी रहेको बलराम खत्रीको कार्यालय सुनसरीको इटहरीमा अवस्थित छ ।


क्लिकमान्डु