कीर्तिपुर नगरपालिकाको बजेट ७९ करोड



काठमाडौं । कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताए । यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिनेभएको छ ।

उनका अनुसार सभाले नयाँ आर्थिक वर्षको ७९ करोड ५६ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरेकामा पुँजीगततर्फ ५६ करोड ९५ लाख रुपैयाँ र चालुतर्फ १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रमुख महर्जनका अनुसार सभाले खानेपानीको लागि १९ करोड रुपैयाँ, नगर सडकका लागि ५ करोड रुपैयाँ, युवालाई स्वरोजगार बनाउनका लागि एक करोड रुपैयाँ, नगर बस सञ्चालन गर्न ५० लाख रुपैयाँ, सामुदायिक विद्यालयमा कम्प्युटरका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सभाले कीर्तिपुरको विकास योजना बनाउनका लागि पूर्व प्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद्समेत गठन गरेको छ । यसैगरी सभाले वडा नं– ४ र ६ बाहेक प्रत्येक वडामा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वडा नंं ४ र ६ ग्रामीण क्षेत्रमापर्ने भएकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख महर्जनले जानकारी गराए । सभाले मधुमेह र उच्च रक्तचापको वृद्धा बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तैगरी एकै बैंकबाट दिइरहेको सामाजिक सुरक्षा भत्तालाई अन्य बैकबाट पनि दिलाउने निर्णय गरेको छ । सभाले पहिलेदेखि लिइआएको करलाई यथावत् राख्दै कर नबढाउने निर्णय गरेको उपप्रमुख सरस्वती खड्काले जानकारी गराए । रासस


पुष्प दुलाल