काठमाडौंमा घर बहालमा लगाउँदा सम्झौता हुन आवश्यक, महिना मरेको ७ दिनभित्र भाडा बुझाउनुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका घर भाडामा दिँदा वा घर खाली भएमा यसको जानकारी महानगरलाई उपलब्ध गराउनुपर्ने भएको छ ।
महानगरपालिकाले जारी गरेको ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’मा यस्तो व्यवस्था गरिएको हो । महानगरभित्र रहेका भवन, भवनको तल्ला, कोठा, पसल, ग्यारेज, टहरा, कारखाना, वर्कसप, पोखरी वा बहालमा दिइने जग्गा भाडामा लगाउँदा सम्झौता गर्नुपर्ने व्यवस्था गरेको हो ।
निर्देशिकाकाअनुसार महानगरभित्र रहेका घर बहालमा दिँदा वा घर खाली हुँदा त्यसको जानकारी ७ दिनभित्र महानगरलाई बुझाउनुपर्नेछ ।
त्यस्तै, निर्देशिकामा घर भाडामा लगाउँदा सम्झौता गर्नुपर्ने, महिना मरेको ७ दिनभित्र बहाल बुझाउनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।
निर्देशिकामा उल्लेख भएअनुसार घरधनीले बहालमा घर दिँदा बहालमा बस्नेसँग तीन प्रति लिखित सम्झौता गरेर एक प्रति सम्बन्धित वडा कार्यालयमा र बाँकी दुई प्रति घरधनी र बहालमा बस्नेले राख्नुपर्ने छ । त्यस्तै, घर भाडामा दिँदा जस्तै घर खाली भएमा पनि त्यसको जानकारी महानगरलाई गराउनुपने र त्यसो नगरमा खाली रहँदाको समयको बहाल कर पनि तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
यस्तो सम्झौतामा बहालको रकम, बहाल कायम रहने अवधि, अवधि थप्नेबारे जानकारी, बहाल तिर्नुपर्ने मितिलगायतका जानकारीहरु उल्लेख गर्नुपर्ने छ । सँगै बहाल रकममा हुने वृद्धिलाई पनि यस्तो सम्झौतामा उल्लेख गर्नुपर्नेछ ।
निर्देशिकाकाअनुसार बहालमा बस्नेले प्रत्येक महिना बितेको महिनाको ७ दिनभित्र बहाल रकम बुझाउनुपर्नेछ । भाडामा लिइएको कोठा, घर वा जग्गा छाड्नु परेमा ३५ दिनअघि नै लिखित रुपमा जानकारी दिनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।
तोकिएको समयभित्रमा बहाल नतिरेको खण्डमा जरिवाना लाग्ने पनि निर्देशिकामा उल्लेख छ । १० प्रतिशत जरिवाना तिरेर अर्को महिनाको मशान्तभित्र बहाल तिर्न सकिने वा तीन महिनासम्म बहाल रकम नतिरेको खण्डमा सम्झौता भंग हुने र घर खाली गराउन मिल्ने निर्देशिकामा उल्लेख छ ।