घुस मागेको आरोप लागेका प्रेमनाथ ठाकुरले अडियोमा बारम्बार नाम लिएका ‘रवि’ को हुन् ?



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक(जीएम) प्रेमनाथ ठाकुर निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै ठाकुरलाई निलम्बन गर्न मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो ।

स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएकाले जाँच बुझका लागि ठाकुरलाई निलम्बन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्र केसीले जानकारी दिए । उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाएको केसीले जानकारी दिए । मन्त्रालयको निर्देशनपछि ठाकुरलाई प्राधिकरणले निलम्बन गरेको छ ।

मन्त्रालयले ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको जनाएको छ । सो श्रव्य सामाग्री यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

ठाकुरले थाई स्माइल एयरवेजका प्रतिनिधिसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको हो । उक्त कुराकानीमा ठाकुरले बारम्बार रविको नाम लिँदै उनले ‘सेटल’ गर्ने बताएका छन् । रविसँग आफ्नो डिल भइसकेकाले उसँगै कुरा गर्न स्माइलका प्रतिनिधिलाई ठाकुरले अनुरोध गरेको अडियोमा सुन्न सकिन्छ ।

थाई एयरवेजले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति लिएको थियो र उसले आफ्नो ग्राउण्ड ह्याण्डलिङमात्र गर्न पाउँछ । थाई एयरवेज बन्द भएपछि भगिनी संस्था थाई स्माइल आएको हो । स्माइलले नेपाल नागरिक उड्डयन प्राधिकरणमा नवीकरण गराउनु पर्ने हुन्छ । त्यसअघि भने उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता क्लियर गर्नु पर्ने हुन्छ । अडियोमा त्यससँग सम्बन्धित कुराकानी भएको सुन्न सकिन्छ ।

को हुन् रवि ?

सन् २०१२ मा स्थापना भएको सोसाइटी इन्टर नेशनल ट्राभलका सञ्चालक हुन्, रवि सिंह ।

यो ट्राभलले नेपालमा विभिन्न विदेशी एयरलाइन्सको जेनरल सर्भिस एडमिनिस्ट्रेसन(जीएसए) को काम गर्दै आएको छ ।
यो ट्राभल नेपालका लागि थाइ स्माइलको पनि जीएसए हो ।

सोसाइटी इन्टर नेशनल ट्राभल २०१४ मा भुटान एयरवेजको जीएसए, चिनियाँ विमान कम्पनी सिद्बुवान एयर र गोवा एयर इण्डियाको पनि जीएसए हो ।

रवि सिंह थाई एयरलाइन्स नेपाल जीएसए हुन् जसले बक्यौता क्लियर गर्न कोओर्डिनेटरको रूपमा काम गर्नु पर्ने हुन्छ ।

तर, ठाकुरले भने आफूले उड्डयन प्राधिकरणमा नवीकरण गराउनु पूर्व विमानस्थलको बक्यौता क्लियर गर्न स्माइलीका एजेन्टसँग आग्रह गरेको र त्यसका लागि जीएसए कम्पनीका सिंहसँग कुराकनी गर्न आग्रह गरेको क्लिकमाण्डूसँग दाबी गरे ।


क्लिकमान्डु