घुस मागेको आरोप लागेका ठाकुर भन्छन्- म माथि षड्यन्त्र भयो, न्याय माग्न अदालत जान्छु



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आफूलाई निलम्बन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती राईको निर्णय गैरकानूनी भएको दाबी गरेका छन् ।

आफूले कसैसँग घुस नमागेको दाबी गर्दै घुस मागेको निराधार आरोप लगाएर आफूलाई निलम्बन गर्ने मन्त्रीको निर्णय गैरकानूनी भएकाले अदालत गएर कानूनी उपचार खोज्ने बताएका हुन् ।

‘मैले घुस मागेको छैन, निलम्बन गर्ने मन्त्रीको निर्णय गैरकानूनी छ, पत्र हात लागेपछि अदालत जान्छु,’ महानिर्देशक ठाकुरले क्लिकमाण्डूसँग भने ।

ठाकुरका अनुसार पहिले थाई एयरवेजले सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति लिएको थियो । तर, पछि थाई एयरवेज बन्द भयो र उसको भगिनी संस्था थाई स्माइल आयो । प्रत्येक वर्ष उसले नेपाल नागरिक उड्डयन प्राधिकरणमा नवीकरण गराउनुपर्छ । नवीकरण गराउनुभन्दा अगाडि उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता चुक्ता गर्नुपर्छ ।

दुई साताअघि थाई स्माइलका एकजना इन्जिनियर नेपाल आएर आफूसँग कुरा गरेको ठाकुरले बताए । ‘तपाईंहरू बिनानवीकरण काम गर्दै हुनुहुन्छ । थाई एअरवेजका नेपालका जीएसए रवि सिंहसँग बक्यौता चुक्ता गर्ने कुरा भएको छ । र, पैसा रविलाई नै दिनू’ भनेको उनले दाबी गरे ।

‘मैले पैसाको कुरा गरेको छैन, घुस मागेको त हुँदै होइन,’ ठाकुरले भने, ‘पैसाको कुरा होइन, रविसँग विमानस्थलको बक्यौता चुक्ता गर्नेबारे कुरा भएको हो ।’

उसले आफूसँग ३,४ लाख मात्र छ भनेकोले रविसँग बाँकी रकमबारे कुरा गर्न र बक्यौता चुक्ता गर्न भनेको ठाकुरको दाबी छ ।

बक्यौता चुक्ता गराउन आफूले पटक पटक पत्र काटेको प्रमाणको रूपमा चिट्ठी पनि आफूसँग भएको उनले सुनाए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो । उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाएको थियो । मन्त्रालयको निर्देशन अनुसार प्राधिकरणले ठाकुरलाई निलम्बन गरिसकेको छ ।

शुक्रबार दिउँसो साढे ३ बजेसम्म आफूले निलम्बनको पत्र नपाएको ठाकुरले बताए । ‘देशको हितमा काम गर्दा म माथि षड्यन्त्र भयो,’ उनले भने, ‘न्याय माग्न अदालत जान्छु ।’


क्लिकमान्डु