श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेट, श्रम सम्झौताका विषयमा छलफल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ ।
शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको हो ।
बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताए । उनले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा स्किल सिकाएर पठाउने कुरामा छलफल भएको बताए ।
‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ । नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ’ उनले भने ।
त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको बताए ।
त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ । उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकुलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताए । कामदारहरुका लागि ज्यालामा वृद्धि गर्नेगरी नीति बनाएको उनको भनाइ छ ।
‘नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरु मलेसिया गएका छन् । जसमध्ये १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा छन् भने ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत छन् । मलेसियाले नयाँ श्रम नीति बनाउँदै छ । हामीले आजको बैठकमा मलेसियामा लागू हुन लागेको नयाँ श्रम नीतिका बारेमा छलफल गरेका छौँ । हामीले कामदारअनुकुलको नीति निर्माण गरिरहेका छौँ । यसको छिटै नै हामी नीति निर्माण गर्दैछौँ । कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ । मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ’उनले भने ।
३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।