प्राइम बैंकका सीईओको तलब भत्ता २ करोड १० लाख



काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई २ करोड १० लाख १५ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले उक्त आवमा सीईओलाई तलब बापत १ करोड ८० हजार रुपैयाँ दिएको छ । यस्तै भत्ता बापत ८५ लाख २७ हजार, दशैं भत्ता बापत १४ लाख र सञ्चयकोषमा १० लाख ८ हजार रुपैयाँ दिएको छ । बैंकको सीईओमा नारायण दास मानन्धर रहेका छन् ।

बैंकले सीईओलाई गाडी सुविधा, मोबाइल सुविधा, इन्धन सुविधा दिएको जनाएको छ । बैंकले सीईओलाई कार्यालय प्रयोजनको लागि चालक इन्धन र मर्मतसंभार सहित गाडी सुविधाको व्यवस्था गरिएको जनाएको छ ।

अन्य प्रमुख पदाधिकारीहरुलाई बैंकको नियमानुसार गाडी सुविधा उपलव्ध गराइएको छ । सीईओ लगायत कार्यकारी तहका अधिकृतहरुलाई बैंकको नियमानुसार मोवाइल बिलको भुक्तानी बैंकले गरिदिने व्यवस्था गरिएको छ ।

यस्तै बैंकले गत आवमा सञ्चालकलाई ३० लाख ३० हजार रुपैयाँ बैठक भत्ता दिएको छ । सञ्चालक समितिको सदस्यलाई टेसलफोन, मोबाइल, पत्रपत्रिका तथा अन्य खर्च बापत १६ लाख ९६ हजार ३०२ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बैंकले गत आव २०७८/७९ को नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस सेयर ४ प्रतिशत र कर सहित ४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु