कच्चा पदार्थ र डलरको भाउ आकासिँदा अधिकांश उद्योगको नाफामा धक्का



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र डलरको भाउ आकासिँदा अधिकांश उद्योगको नाफामा धक्का पुगेको छ । कोरोना महामारी र रुस-युक्रेनबीचको द्वन्द्वले कच्चा पदार्थ र डलरको भाउ आकासिँदा अधिकांश उद्योगको नाफामा धक्का पुगेको हो ।

डलरको भाउ र कच्चा पदार्थको मूल्यले इतिहास कायम गर्दा बजारमा अधिकांश वस्तुको मूल्य बढेको छ । साथै, कम्पनीको व्यापारमा पनि ठूलो धक्का पुगेको तथ्याङ्कले देखाउँछ ।

उद्योगहरुले कच्चा पदार्थ आयातका लागि डलर खर्चिनुपर्छ । एकातिर कच्चा पदार्थको मूल्य बढेको छ भने अर्कोतर्फ कच्चा पदार्थ खरिद गर्नका लागि आवश्यक डलरको भाउ पनि महँगो बन्दा थप भार परेको पाइन्छ ।

विश्वका उत्पादनजन्य उद्योगका लागि सबैभन्दा अत्यावश्यक कच्चा पदार्थको हो, कोइला । कोभिड र द्वन्द्वको असरले कोइलाको मूल्यले इतिहास कायम गरेको थियो । यसको प्रत्यक्ष असर उत्पादनजन्य उद्योगमा प्रभाव परेको छ ।

कोरोनाअघिसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिटन कोइलाको मूल्य ५० डलरदेखि ९० डलरसम्म कायम भएको थियो । तर, कोभिडपछि विश्वबजारमा सप्लाई चेन नमिल्दा कोइलाको मूल्य निरन्तर बढेको देखिन्छ । जसमा कोभिडपछि सन् २०२१ मा कोइलाको मूल्य प्रतिटन २७० कायम भएको थियो । त्यसपछि कोइलाको मूल्य घटबढ भइ सन् २०२२ को मार्चमा कोइलाको प्रतिटन मूल्यले उच्च मूल्यको रेकर्ड राखेको थियो । सोबेला प्रतिटन कोइलाको मूल्य नै ४३० डलरसम्म पुगेको थियो ।

कोभिडका कारण बढ्दै गएको कोइलाको भाउमा रुस–युक्रेनबीचको द्वन्द्वले थप मूल्य वृद्धि भएको छ । युद्धपछि यसको मूल्य प्रतिटन नै ४७५ डलर पुगेको थियो । साथै, डलरको भाउ पनि निरन्तर बढेर इतिहास कायम गरेको थियो । उक्त डलर भाउ र कच्चा पदार्थको मूल्य बढ्दा नेपालका उद्योगमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ ।

नेपालका अधिकांश उद्योगहरुले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी आवश्यक वस्तु उत्पादन गर्दै आएको छ । उक्त उद्योगहरुले कोभिडकै समयमा उच्च व्यापार गरेपनि कच्चा पदार्थ र विनियम दरको मूल्यले गर्दा मूल्यमा निकै असर परेको जनाएको छ । साथै, उच्च व्यापार भएपनि नाफामा भने कमी आएको कम्पनीहरुको भनाइ छ ।

बजारमा अधिकांश क्षेत्रमा बढ्दो प्रतिस्पर्धा छ । उच्च प्रतिस्पर्धात्मक बजारमा कच्चा पदार्थ र डलरको भाउले गर्दा उद्योगको नाफामा निकै चुनौती थपिएको कम्पनीहरुले उल्लेख गरेको छ । त्यसैगरी, कम्पनीहरुले कोभिडको समयमै उच्च व्यापार गरेपनि कोभिडअघिको तुलनामा नाफा भने घटेको देखाउँछ ।

त्यसैगरी, सिमेन्ट उद्योगमा अत्यावश्यक कच्चा पदार्थको रुपमा कोइलालाई लिइन्छ । नेपालका अधिकांश सिमेन्ट उद्योगले विभिन्न देशबाट कोइला आयात गरी उत्पादन गर्दै आएका छन् । सोही कोइला आयात गर्न उद्योगीहरुले डलर खर्चिनु पर्छ । एकातिर डलरको भाउ बढेको र त्यसमा पनि कोइलाको मूल्य उच्च हुँदा सिमेन्ट उद्योगहरुको नाफामा धक्का पुगेको कम्पनीहरुको भनाइ छ ।

त्यसैगरी, अर्घाखाँची सिमेन्ट उद्योगले हालसम्मकै कम नाफा कमाएको छ । ब्याज, डेप्रिसिएसन र करकट्टीबाहेक (ओपीबीडीआईटीए/ओआई) कम्पनीले सन् २०२२ मा ८ प्रतिशत मात्रै नाफा कमाएको छ । जबकी उक्त सिमेन्ट उद्योगले यसभन्दा अगाडिका वर्षहरुमा २० प्रतिशतभन्दा माथि नाफा कमाएको थियो ।

होङ्सी सिमेन्टको नाफाको अवस्था पनि उस्तै छ । कम्पनीले कच्चा पदार्थ र विनिमय दरमा उच्च वृद्धि हुँदा नाफामा कमी आएको जनाएको छ । कम्पनीले वार्षिक २५ प्रतिशतभन्दा बढी नाफा (ओपीबीडीआईटीए/ओआई) कमाउँदै थियो । तर, सन् २०२२ मा व्यापारमा खासै कमी नभएपनि नाफा भने १६ प्रतिशतमा झरेको छ ।

त्यस्तै, सम्राट सिमन्टको व्यापार बढ्दा पनि नाफामा ठूलो गिरावट आएको छ । सन् २०२२ मा २० प्रतिशत मात्रै नाफा कमाएको छ । यी तीन वटा सिमेन्ट उद्योगमा मात्रै नभएर देशभरको अधिकांश उद्योगको नाफामा कच्चा पदार्थ र डरलको भाउले निकै असर पारेको कम्पनीहरुले जनाएका छन् ।

सिमेन्ट उद्योग मात्रै नभएर स्टिल उद्योगको अवस्था पनि उस्तै छ । स्टिल उद्योगहरुले सन् २०२२ मा कोभिडअगाडिको तुलनामा उच्च व्यापार गरेपनि नाफा भने ह्वात्तै घटेको देखाउँछ । स्टिल उद्योगमा पनि कोइला उच्च प्रयोग हुन्छ । जसको प्रत्यक्ष असर नाफामा देखिएको हो ।

राजेश मेट क्राफ्टले सन् २०२२ मा कोभिड अघिकोभन्दा बढी व्यापार गरेको छ । तर, कोइला र विनिमय दर उच्च हुँदा नाफा आधाले घटेको छ । जसमा कम्पनीले सन् २०२१ मा २६ प्रतिशतले नाफा कमाउँदा सन् २०२२ मा १३.९ प्रतिशत मात्रै नाफा कमाएको छ ।

हुलास वायर उद्योगले ६.१ प्रतिशत, अम्बे स्टिलले ४.७ प्रतिशत, गोदावरी स्टिलले ७.९४ प्रतिशत र कमला रोलिङ मिल र रियल स्टिलले ८.१० प्रतिशत नाफा कमाएको छ । उक्त स्टिल उद्योगहरु मात्रै नभएर स्टिलजन्य वस्तु उत्पादन गर्ने अधिकांश उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्पञ्ज आइरन, एचआर रोल्ड कोइलालगायत अन्य कच्चा पदार्थको मूल्य बढ्दा नाफामा चुनौती थपिएको छ

तेल उद्योगमा पनि कच्चा मूल्यवृद्धिले नाफा प्रभाव पारेको छ । कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा कच्चा तेलको मूल्य ह्वात्तै बढाएको छ । त्यसको प्रत्यक्ष असर नेपाली उद्योगको नाफामा पनि देखिएको छ ।

बाबा भेजिटेबल आयल उद्योगले हालसम्मकै बढी तेलको व्यापार गरेको छ । तर, नाफामा भने घटेको छ । विगतको दिनमा करिब १३ प्रतिशतसम्म नाफा कमाएको कम्पनीको नाफा कच्चा पदार्थको मूल्य बढ्दा १० प्रतिशतमा सिमित भएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु