अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न हिँडेका प्रधानमन्त्री र उपप्रधानमन्त्री पोखरा उड्न सकेनन्



काठमाडौं । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्न जान लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत मौसम खराबीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै रोकिएका छन् ।

अहिले पोखरामा भएको मौसम खराबीका कारण विमान समयमा उड्न नसकेका कारण प्रचण्ड, पौडेल लगायत सबै त्रिभुवन विस्मानथलमा नै रोकिएका हुन् ।

अहिले पोखराको भिजिबिलिटी २ सय मिटर रहेका कारण विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रवक्ता अनुप जोशीले बताए । जोशीका अनुसार प्रधानमन्त्री प्रचण्ड, पौडेल लगायत पोखरा आउन लागेका सबै त्रिभुवन विमानस्थलमा रोकिएका छ्न् । उनीहरु १० बजे पोखरा पुग्ने कार्यतालिका रहेको थियो । मौसम खराबीका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक केही ढिलाइ हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
आजै प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन पोखरा अन्तराष्ट्रिय विमानस्थल पुग्ने यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने कार्यक्रम रहेको छ । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको छ । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात दिउँसो २ बजेदेखि ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ बजेदेखि ५।५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए ।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ


क्लिकमान्डु