महानगरमा दर्ता भएका व्यवसाय र फर्मलाई मात्रै ऋण दिन बैंकहरू तयार



विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैंकहरु तयार भएका छन् ।

आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियानअन्तलेर्गत महानगर वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखहरुलाई बोलाएर बुधबार छलफल गरेको छ ।

छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखहरुले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्ने प्रतिबद्धता जनाएका थिए ।

उनीहरुले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरु तत्तपर रहेको बताए । छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैंकका प्रमुखहरुको सहभागिता थियो । महानगरको कर वृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उनीहरुले सामूहिक प्रतिबद्धता जनाए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरुले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैंकका प्रमुखहरु सहमत भएका छन् ।

छलफलमा मेयर नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गरेका थिए । बैंकहरुले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् ।

अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिन मेयर कोइरालाले आग्रह गरेका थिए । उनले बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरको सौन्दर्यकरणलगायतमा पनि सहयोग गर्न सक्ने उल्लेख गरे ।

‘विराटनगर तपाईंहरुको पनि हो, तपाईंहरुले यहाँको सौन्दर्यकरणसँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्नुहुन्छ,’ कोइरालाले भने ।

उपमेयर शिल्पा निराला कार्कीले बैंकहरुले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको बताइन् । उनले छिटोभन्दा छिटो पार्किङको व्यवस्थापन गर्न आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको बताए ।

उनले आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर महानगरले नै लिने व्यवस्था मिलाइएको बताए । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको ५ वटा वडामा कर संकलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

सबै करदाताको घरआँगमै पुगेर कर संकलन गरिने उनको भनाइ थियो । गत आर्थिक वर्ष ४९ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा महानगरको आन्तरिक खर्च भने ५४ करोड रुपैयाँभन्दा बढी भएको थियो ।


क्लिकमान्डु