उद्योगी व्यवसायीको मागप्रति अर्थमन्त्री सकारात्मक: सारडा



विराटनगर । अर्थमन्त्री विष्णु पौडेल र आन्दोलरत उद्योगी–व्यवसायीहरूबीच छलफल भएको छ । सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

बुधबार दिउँसो प्रदेश १ सहित देशभरका उद्योगी व्यवसायीसँग छलफल गर्दै अर्थमन्त्री पौडेलले पुसभित्र समस्या समाधान गर्दै भन्दै आन्दोलन रोक्न आग्रह गरेका थिए ।

‘अर्थमन्त्री उद्योगी व्यवसायीका मागप्रति निकै सकारात्मक र गम्भीर हुनुहुन्थ्यो । हाम्रा मागहरू टिपोट गर्नुभएको छ,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का प्रमुख संरक्षक पवनकुमार सारडाले भने, ‘पुसभित्र समस्या समाधान गर्ने भन्नुभएको छ ।’त्यो समयसम्म आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न अर्थमन्त्रीले आग्रह गरेको उनले बताए । छलफलमा अर्थमन्त्री पौडेलसहित गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव, राजश्व सचिवलगायत सहभागी थिए ।

त्यस्तै निजी क्षेत्रबाट मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेल, एफएनसीसीआई प्रदेश १ का संरक्षक सारडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, नेपाल घरेलु तथा साना उद्योग महासंघ,विराटनगर, मोरङ अटोमोबाइल्स एसोसिएशन प्रदेश १, नेपाल सुनचाँदी व्यवसायी संघका प्रतिनिधि छलफल भएका थिए ।

त्यसअघि पूर्वका व्यवसायीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए ।

पूर्वका उद्योगी व्यवसायीहरूले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन खारेज गर्नुपर्ने, एकल अंकको बैंक ब्याजदर कायम गर्नुपर्ने र स्प्रेड दर अधिकतम २ प्रतिशत कायम गर्नुपर्ने लगायतका पाँच सूत्रीय माग राख्दै आन्दोलन गरिरहेका थिए । उनीहरू एक सातादेखि नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको मुख्य प्रवेशद्वारामा धर्नामा बसेका थिए ।

उनीहरू धर्नामा बसेकै बेला अर्थमन्त्री पौडेलले सोमबार फोन गरे उनीहरूलाई वार्तामा बोलाएका थिए । त्यसपछि मंगलबार उनीहरूले धर्नास्थलबाटै आन्दोलनको कार्यक्रम स्थागित गरेर वार्ता गर्न सोही दिन काठमाडौं गएका थिए । सो दिन अर्थमन्त्रीको व्यस्तताका कारण वार्ता हुन नसकेर बुधबारलाई सारिएको थियो ।


क्लिकमान्डु