आन्दोलन स्थगित गरेर देशभरका व्यवसायी अर्थमन्त्रीसँग वार्ता गर्न काठमाडौंमा



काठमाडौं । बैंकको चर्को ब्याजदर र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनको विरुद्धमा आन्दोलनरत व्यवसायीहरु आन्दोलन स्थगित गरेर वार्ता गर्न काठमाडौं आएका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि उनीहरु आन्दोलन स्थगित गरेर वार्ताका लागि काठमाडौं आएका हुन् ।

अर्थमन्त्री पौडेलले आज दिउँसो १ बजे व्यवसायीहरुलाई छलफलका लागि मन्त्रालयमा बोलाएका छन् । छलफलमा बिराटनगर, बीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज र काठमाडौं उद्योग वाणिज्य महासंघका लगायतका स्थानमा सडक आन्दोलनमा उत्रिएका व्यवसायीका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेर अर्थमन्त्रीसँग वार्ता गर्न काठमाडौं पुगेको जानकारी दिए ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीलाई उद्योगी व्यवसायीलाई वार्तामा डाकेर समस्या समाधान गर्न निर्देशन दिएपछि अर्थमन्त्री पौडेलले आन्दोलनरत व्यवसायीहरुलाई टेलिफोन गरेर वार्ताका लागि बोलाएका हुन् ।

सरकारसँग वार्तामा जानुअघि उद्योगी व्यवसायीका प्रतिनिधिहरूबीच सामूहिक एजेण्डा तय गर्न र वार्ताका लागि एजेण्डा तय गर्न टोली बनाइएको छ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले लिएको नीतिका कारण आफूहरु समस्यामा परेको व्यवसायीहरुको भनाइ छ । त्यतिमात्रै होइन, गभर्नर महाप्रसाद अधिकारीले लिएका नीति विरुद्ध पनि व्यवसायीहरु आन्दोलनरत छन् ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको टसलका कारण आफूहरु मारमा परेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

‘जनार्दन शार्म र महाप्रसाद अधिकारीको झगडा हाम्रा लागि साँढेको जुधाई बाच्छाको मिचाइ जस्तो भयो,’ बीरगञ्जका एक व्यवसायीले भने, ‘अहिले एमालेकै अर्थमन्त्री र एमालेकै गभर्नर भएकाले मिलेर काम गर्नेछन् । वित्त नीति र मौद्रिक नीतिको दिशा एउटै हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

अर्थमन्त्रीले वार्तामा बोलाएपछि आफूहरु उत्साहित भएको उनीहरुको भनाइ छ । तर, आफूहरुका माग सम्बोधन नभएसम्म विश्वास गरिहाल्न भने नसकिएको अर्का एक व्यवसायीले बताए ।


क्लिकमान्डु