अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रलाई प्राथमकितामा राखेको बताएका छन् ।

मंगलबार बधाई एवं शुभकामना दिन प्रधानमन्त्रीको निजी निवास खुमलटार पुगेको नेपाल उद्योग परिसंघको टोलीसँग प्रचण्डले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने विश्वास दिलाए ।

अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका थिए ।

त्यसक्रममा परिसंघले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने कदमसहतिको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्रीलाई बुझाएको छ ।

अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगकि प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत अवधारणामा परिसंघले बुझाएको छ ।

अवधारणापत्र बुझेसँगै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताएका थिए ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायतले बधाई तथा शुभकामना दिएका थिए ।


क्लिकमान्डु