सेञ्चुरी बैंकका सीईओको तलब भत्ता १ करोड १५ लाख, अन्य के-के छन् सुविधा ?



काठमाडौं । सेञ्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षको अवधिमा १ करोड १५ लाख ८७ हजार ८९२ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम तलब भत्ता बापत भुक्तानी गरेको जनाएको छ । बैंकले गत आवमा सीईओलाई तलब भत्ता बापत ९२ लाख २७ हजार ४४१ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै बैंकले दशैै खर्च बापत सीईओलाई ७ लाख ५ सय रुपैयाँ दिएको छ भने संचय कोषमा ४ लाख ३३ हजार ४५१ रुपैयाँ योगदान गरेको छ । बैंकले सीईओलाई १२ लाख २६ हजार ५ सय रुपैयाँ अन्य रकम बापत भुक्तानी गरेको छ ।

बैकले सीईओलाई चालक, इन्धन र मर्मत सम्भारसहित सवारी साधनको व्यवस्था गरेको जनाएको छ । यस्तै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका सम्पूर्ण कर्मचारीहरूलाई बैंकको नियमानुसार दुर्घटना बीमाको व्यवस्था गरेको जनाएको छ । सीईओलाई वास्तविक खर्च र अन्य कार्यकारिणी तहका सम्पूर्ण अधिकृतहरूलाई तोकिएको रकम सम्म नियमानुसार मोबाइल फोनको भुक्तानी बैंकले गर्ने व्यवस्था गरेको जनाएको छ ।

बैंकले अध्यक्ष र संचालकलाई संचालक समितिको बैठक बापत प्रति बैठक १५ हजार र १४ हजार दिने गरेको छ । गत आवमा सञ्चालकलाई बैठक भत्ता ३३ लाख ५४ हजार, टेलिफोन÷मोबाइल र पत्रपत्रिका बापत ९ लाख ६६ हजार र अन्य शिर्षकमा १० लाख १२ हजार ५७१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।


क्लिकमान्डु