जीवन बीमामा पहिलो मर्जर, ‘सूर्यज्योति’को एकीकृत कारोबार शुरु



काठमाडौं । नेपाल बीमा प्राधिरकण साविकको(बीमा समिति)ले गत चैत १० गते सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

उक्त निर्देशनअनुसार कम्पनीहरुले २०७९ चैत मसान्तभित्र पुर्याईसक्नु पर्नेछ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशनमा उल्लेख छ ।

जसअनुसार कम्पनीहरुले गाभ्ने/गाभिने प्रयोजनको लागि साथी खोज्न थालेका थिए । शुरूवात निर्जीवन बीमा कम्पनी हिमालयन र एभरेष्टले गरेका थिए ।

गत वैशाख २२ गते निर्जीवन बीमा कम्पनीहरू एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए । उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो थियो ।

यी कम्पनीहरुले गत साउन एक गतेदेखि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार थालीसकेका छन् । जुन मर्जर बीमा क्षेत्रकै पहिलो मर्जर हो । यस्तै, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले पनि एकीकृत कारोबार गरिसकेका छन् । बीमा क्षेत्रमा यो दोस्रो मर्जर हो ।

प्राधिकरणकाअनुसार १९ जीवन बीमा कम्पनीमध्ये ९ वटाले एक आपसमा गाभ्ने÷गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ती मध्ये सूर्या र ज्योति लाइफले एकीकृत कारोबारको मिति तय गरी सकेका छन् ।

यी कम्पनीले ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट पुस ७ गते बिहीबार (आज) देखि एकीकृत कारोबार शुरु गरेका हुन् ।

यो मर्जर नेपाली बीमा क्षेत्रमा तेस्रो र जीवन बीमामा भने पहिलो मर्जर हो ।

दुवै कम्पनीले एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा २०७९ असार १२ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै कम्पनीको कात्तिक २८ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर २७ गते मर्जर तथा एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो ।

संयुक्त मर्जर समितिले मंसिर २९ गतेको निर्णयअनुसार बीमा प्राधिकरणले मंसिर २९ गते एकिकृत कारोबारको लागि स्वीकृति प्रदान गरेको थियो । सोहि अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार शुरु भएको हो ।

नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् । सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीकोे सेयर सूर्या लाइफका सेयरधनीले १ सेयर बराबर १ सेयर पाउनेछन् ।

भने ज्योति लाइफका सेयरधनीले १ सेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । मर्जर पश्चात सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँ छ । कम्पनीको अधिकृत पुँजी ६ अर्ब रुपैयाँ र जारी पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँ छ ।

वित्तीय सूचकमा कुन कम्पनी कस्तो ?

कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार चुक्ता पुँजी, जगेडा कोष र जीवन बीमा कोषमा सूर्या लाइफ ज्योतिको तुलनामा अब्बल देखिन्छ । जुन सूचकलाई बीमा कम्पनीहरुको मूख्य सूचकका रुपमा लिईन्छ ।

चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको सूर्या लाइफको जगेडा कोषमा ७१ करोड २२ लाख ५७ हजार रुपैयाँ र बीमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख ५१ हजार रुपैयाँ सञ्चित छ ।

यस्तै, २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सूर्या लाइफको जगेडा कोषमा एक अर्ब ३ करोड ५७ लाख ९१ हजार ६८६ रुपैयाँ र बीमा कोषमा ७ अर्ब ४ करोड ६९ लाख ७४ हजार ८५१ रुपैयाँ सञ्चित छ ।

बीमा प्राधिकरणकाअनुसार कात्तिक मसान्तसम्मको अवधिमा सूर्या लाइफले जीवन बीमा व्यवसायको ३.७४ प्रतिशत र ज्योतिले २.५८ प्रतिशत हिस्सा ओगटेका छन् । उक्त अवधिमा सूर्याले एक अर्ब ७१ करोड ८९ लाख रुपैयाँ र ज्योतिले एक अर्ब १८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु