राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको सदस्यता बदरको माग गर्दै निर्वाचन आयोगमा निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उक्त दलबाट साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

सोमबार सिन्धुली जिल्ला घर भइ हाल काठमाडौ बस्दै आएका समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल ‘सफल’ले निर्वाचन आयोगमा विदेशी नागरिकले नेपालमा राजनीतिक दल खोल्न र सो दलको सदस्यसमेत हुन नसक्ने कानूनी व्यवस्था रहेकोले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्यता बदर गर्न माग गरेका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन् पाउने अधिकार केवल नेपाली नागरिकसँग मात्रै हुने कानूनी व्यवस्था बिपरित नेपाली नागरिकता नभएका श्री रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्बाचन आयोगबाट हुन् गएको त्रुटीबाट म स्तब्ध भएको छु’ निवेदनमा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा भएका नेपाली नागरिकहरुले उक्त दल खोल्न, सो दलको नेतृत्व गर्न र राजनीतिमा संलग्न भइ मुलुकको नेतृत्व लिन पाउनु पर्दछ भन्ने मान्यता रहेको भन्दै नेपाली नागरिकता नै नभएका लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवं सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको भन्दै उनको सभापतित्व र साधारण सदस्यता निर्बाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गर्न निवेदनमा माग गरिएको छ ।

नेपालको संविधान, २०७२ को धारा १७(२)(क) ले सो हक प्रयोग गर्न पाउने अनुमति केवल नेपाली नागरिकलाई मात्रै प्रदान गर्दछ । त्यसरी नै संघीय संसद्को सदस्य हुन् पनि नेपालको नागरिक हुनु पर्दछ भन्ने व्यवस्था नेपालको संविधान, २०७२ को धारा ८०(१)(क) मा गरिएको छ ।

‘सविधानको धारा ८४(५) अन्तर्गत १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै मतदान गर्न पाउँछन् । कुनै पनि व्यक्ति वा निकायले उक्त व्यवस्थाको अनादर गर्न मिल्दैन । त्यसरी नै राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६(१)(ग), १४(२), १७ र २१(ज) र राजनैतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ३(२), ६(१)(घ) बमोजिम राजनैतिक दलको सदस्यता प्राप्त गर्न र पदाधिकारी हुन् नेपाली नागरिक हुनु पर्दछ । त्यसरीनै प्रतिनिधि सभा सदस्य निर्बाचन ऐन, २०७४ को दफा १२ बमोजिम प्रतिनिधि सभाको उम्मेद्धार हुन् नेपाली नागरिक हुनु पर्दछ एंब नेपालको नागरिक नभएको व्यक्ति सोहि ऐनको दफा १३ बमोजिम उम्मेद्धार हुन् अयोग्य हुन्छन । निर्बाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा १४ ले नेपाली नागरिकता नभएको व्यक्तिलाई मतदान गर्न समेत प्रतिबन्ध लगाई गैर नेपाली नागरिकले मतदान गरेमा कसूर गरेको मान्दछ’ निवेदनमा भनिएको छ ।


क्लिकमान्डु