मलेसियामा नेपाली दुतावासले सुरु गर्यो घुम्ती सेवा



मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ ।

नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले बताए ।

क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरिएको छ । गैरआवाशीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।

उक्त सेवाबाट २८० जना श्रमिकले राहदानी सम्वन्धी सेवा लिएका छन् । घुम्ती सेवामा राहदानी सम्वन्धी सेवाका साथै दुतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दुतावासले जनाएको छ ।

घुम्ती सेवा उद्घाटनका क्रममा राजदुत पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तर्क्रिया तथा सम्वन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गरेका छन् ।

सुरक्षा गार्ड तथा सरसफाइ सम्वन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछी उनले सम्वन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् ।

विशेषत सुरक्षागार्ड र सरसफाइ सम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानुन अनुसार व्यवस्थित गर्न लागिएको राजदुत पौडेलले बताए । राजदुत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दुतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् ।

मागपत्रमा प्रस्तुत गरे अनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरस पालना गरिने उनले बताए । यसले गर्दा अहिले सुरक्षागार्ड र सरसफाइ सम्बन्धी मागपत्र प्रमाणिकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकहरुको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए ।


क्लिकमान्डु