चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा गए: ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन् ।

ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गरे ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको बताए ।

सशष्त्र युद्धका कारण पीडामा परेकाहरुलाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै दाहाल लागि परेको ओलीको आरोप थियो ।

ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी गरे । सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने ओलीको तर्क थियो ।

ओलीले सत्तारुढ गठबन्धन मृत अवस्थामा पुगिसकेकाले यसले देशको, जनताको माया नगरेको बताए ।

अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने बताए ।


क्लिकमान्डु