मुस्ताङमा जलवायु अनुकुल पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध



मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् ।

शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् ।

मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकुलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्नुपर्ने बताए ।
जलवायु अनुकुलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

‘मुस्ताङवासी समाजसेवी, उद्योगी र प्रशासकहरुलाई एउटा आग्रह छ, यो जिल्लालाई जलवायु अनुकुलन हुनेगरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक छ । अहिले जलवायु अनुकुलनमा कार्यक्रम सञ्चालन गर्नु, वातावरणमैत्री निर्माण कार्य सञ्चालन गर्नु र हाम्रो दैनिक जनजीवन पनि त्यो अनुसार गर्नु अत्यन्त आवश्यक छ । यदी भावि पुस्ताका लागि हामीले केही उपहार दिने हो भने हामीले वातावरणमैत्री विकास कार्यहरु, हाम्रो जनजीवनहरु, हाम्रो अर्थप्रणालीलाई त्यतापटि हामीले लैजानुपर्ने हुन्छ ’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताइन् ।

मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार बिस्तारको नयाँ सम्भावना खोल्नुपर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु