सन्दीप प्रकरण: किशोरी १८ वर्ष पूरा भएको जन्मदर्ता अदालतमा पेस



काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पक्षका कानुन व्यवसायीहरुले पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् ।

बुधबार लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहसका क्रममा उनकातर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले किशोरी नाबालिग नभएको प्रमाण पेस गरेका हुन् । सन्दीपको तर्फबाट आज दुई जना वकिलहरुले बहस गरेका थिए ।

उनीहरु लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले सफाई पाउनुपर्ने दाबी गरे । कानुन व्यवसायी मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपलाई धरौटीमा रिहा गरेर मुद्दा पुर्पक्ष गर्न दिइनु पर्ने जिकिर गरेका थिए ।

अधिवक्ता सापकोटाले पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कुलमा भर्ना हुँदाका विवरणहरु, बसाइँ-सराइ कागजहरु पेस गरिएको बताए ।

किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलास समक्ष पेस गरिएको हो । अदालतमा पेस गरिएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनुसार घटना भएको मितिमा पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको हुन्छ । घटना यसै वर्षको भदौ ६ गते भएको जाहेरीमा उल्लेख गरिएको छ ।

आज पीडित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका थिए ।

बहसपछि सन्दीपलाई थुनामा राखेर बाँकी मुद्दाको सुनुवाइ अघि बढाउने कि थुनामुक्त गरेर भन्नेबारे इजलासले आदेश दिने छ ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।


क्लिकमान्डु