सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस जारी, थुनामुक्त होलान् ?



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानको मुद्दामा थुनछेक बहस शुरु भएको छ ।

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा मंगलबार बयान लिएको थियो । बयान सकिएसँगै आज थुनछेक बहस शुरु भएको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछाने विरुद्ध बहस भइरहेको हो । सुरूमा सरकारी वकिलले पीडितको पक्षबाट र त्यसपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन् ।

बहसपछि सन्दीपलाई थुनामा राखेर बाँकी मुद्दाको सुनुवाइ अघि बढाउने कि थुनामुक्त गरेर भन्नेबारे इजलासले आदेश दिने छ ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।


क्लिकमान्डु