आयोगद्वारा झण्डा र चुनाव चिह्नको आकार निर्धारण, आमसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने



काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते (भोलि) देखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो ।

बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहिता प्रतिकुल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गरे ।

राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे । उनले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न सचेत गराए ।

व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्दहरु उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोला लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिह्न प्रयोग भएका सामग्रीहरु प्रयोग गर्न नहुने उनले बताए ।

निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन उनले आग्रह गरे । ‘कुन दलको कुन ठाउँमा कसरी आमसभा गर्ने भन्ने कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिने । स्थानीय प्रशासनलाई जानकारी दिइसके पछाडि, एउटा दलले कुनै कार्यक्रम गर्ने ठाउँ हो भने अर्को दलले त्यहाँ कार्यक्रम जुधाउनु भएन । अत्यन्त सभ्य, अनुशासित र भद्रसँग आफ्नो कार्यक्रम सञ्चालन गर्नुपर्‍यो । व्यक्ति विशेषको घर नजिकै र व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनैपनि शब्दहरु उच्चारण गर्नु भएन’ उनले भने ।

राजनीतिक दलहरुले आमसभा, कोणसभा, र्‍याली गर्दा शर्त पालना गर्नुपर्छ, आफ्नो दलको प्रचारप्रसारको सन्दर्भमा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, ब्याग लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिह्न प्रयोग भएका यस्ता सामग्रीहरु त्यहाँ प्रयोग गर्न नहुने उनले बताए ।

‘निर्वाचन आचारसंहीताले जुन ढाँचा तोकेको छ, त्यो ढाँचामा पर्चा, पम्प्लेट बनाउनुपर्‍यो । र निर्वाचन प्रचार प्रसार गर्नुपर्‍यो । एउटा दलले कार्यक्रम गर्दा अर्को दलको कार्यक्रमलाई प्रतिकुल असर पारिदिनु भएन । कार्यक्रम बिथोल्ने लगायत अरुलाई आरोप, प्रत्यारोप लगाउने विषयले असर पर्‍यो भने त्यो कारबाहीको विषयवस्तु हुन्छ । प्रचलित कानून प्रतिकुल, निर्वाचन ऐन, नियम प्रतिकुल, आचारसंहीता प्रतिकुल काम गर्नुहुन्न’ उनले भने ।

सार्वजनिक स्थलहरुमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्न नपाइने उनले बताए । कुनै पनि कार्यक्रम गर्दा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न पाइने छैन ।

प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका र समानुपातिकका उम्मेदवारहरुले तोकिएभन्दा बढी सवारी साधन प्रयोग मिल्दैन।

‘सवारी साधन कसले कतिवटा प्रयोग गर्न पाउने भन्ने पहिले भनिसकेका छौँ । तोकिएको सीमा भन्दा बाहिर गर्न पाउनुहुन्न । सयौँ बस लिएर आमसभा गर्नुहुन्न भन्ने आयोगको विश्वास छ । बस, ट्रक, मिनीटाटा, ठेलागाढा, ट्रयाक्टर लगायतका सवारी साधनहरुको प्रयोग गरेर त्यसमा पर्चा पम्प्लेट टाँसेर, त्यसको अगाडी झण्डा राखेर प्रचारप्रसार गर्न पाइदैनँ । आचारसंहीताले निषेध गर्छ’ आयुक्त भण्डारीले भने ।


क्लिकमान्डु