एमाले घोषणापत्र: श्रमिकको न्यूनतम ज्याला मासिक २५ हजार



काठमाडौं । नेकपा एमालेले श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार रुपैयाँ पुऱ्याउने प्रतिवद्धता जनाएको छ ।

मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र जारी गर्दै एमालेले श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार रुपैयाँ पुऱ्याउने प्रतिवद्धता जनाएको हो । अहिले श्रमिकहरुको न्यूनतम ज्याला १५ हजार रुपैयाँ रहेको छ ।

असंगठित रुपमा व्यापार व्यवसाय गर्ने व्यक्तिको व्यवसायलाई व्यवस्थित गरिने र अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने एमालेले जनाएको छ ।

औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने घोषणापत्रमा समावेश गरिएको छ ।

स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने एमालेको प्रतिवद्धता छ ।


क्लिकमान्डु