सन्दीपको बयान: उनको मन राख्न नगरकोट गएँ, १९ वर्ष भनेकी थिइन्, गफ गर्दागर्दै कुर्सीमै निदाएँ



काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले पीडित भनिएकी किशोरीको जोडबलमा आफू नगरकोट गएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले किशोरीले नगरकोट जान प्रस्ताव गरेको र आफूले उनको मन राख्नका लागि नगरकोट गएको दाबी गरेका छन् ।

‘मैले आज बिहानदेखि नै नगरकोट जाने mood बनाएको छु, letÚs go to nagarkot भनेकोमा मैले फेरि पनि आज सम्भव छैन, भोलि म game खेल्न केन्या जानुपर्नेछ र त्यसका लागि तयारी पनि गर्नुपर्नेछ भन्दा निजले मलाई होइन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्‍यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं’ सन्दीपले बयानमा भनेका छन् ।

नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी भएको र पीडित भनीएकी किशोरीलाई यसबारे सोध्दा उनले आफूलाई होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफू १९ वर्षमा चलिरहेको बताएकी सन्दीपले बयानमा उल्लेख गरेका छन् ।

‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरि पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होइन, मेरो होस्टेल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भिउ अवलोकन गर्न पनि इच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं’ सन्दीपले भनेका छन् ।

नगरकोटबाट फर्किएर उनलाई होस्टलमा पुर्‍याउन खोजेपनि बन्द भइसकेको र आफूलाई गफ गर्न नपुगको बताएपछि होटल बुक गरेको सन्दीपले बयानमा उल्लेख गरेका छन् ।

बयानमा भनिएको छ, ‘मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन्, त्यसपछि म त्यही कोठामा गएँ, कोठामा पुगी ए.सी. नचेलेको देखी मैले होटलको स्टाफलाई इन्फर्म गरें । त्यसपछि कोठाको ए.सी. बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भनेअनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ :५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ । कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन् । मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, it’s ok भन्दै जवाफ फर्काइन् ।’

आफूले बलात्कार गरेको भन्दै उजुरी परेपनि सन्दीपले भने इन्कारी बयान दिएका छन् । बयानमा सन्दीपले भनेका छन्-
मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्सीमा बसिरहें भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्सीमा आई बसें । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो girl friend रहेको र छिट्टै मेरो १/२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ । त्यसपछि मैले तिम्रोबारेमा भन न त भन्दा मेरो घर नुवाकोट हो तर म वीरगञ्जमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद (divorce) भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बीचबीचमा विद्यालय परिवर्तन गर्दै अहिले पुन; काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको कुरा बताइन् ।

कुराकानीको क्रममा निज उदास देखिएकोले मैले don’t worry सब ठीक हुन्छ, दुःखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठीक नरहेकोले निजले मलाई sponsership का लागि समेत कुरा गरेको र sponsership ले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठीकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजको अनुहारमा खुशी देखी मलाई पनि खुशी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३ः४५/०४ः०० बज्यो । कुराकानीकै क्रममा निज आफैंले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिएँ, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरासमेत गरेकी थिइन् ।

यो कुरा सुन्दा निजमाथि शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पुर्‍याइदिन आउँछु भन्दा निजले तपाईं अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाईं यही बस्नुस्, हामी यही कुराकानी गरौँला भनी आग्रह गरिन् । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यही सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याइदिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाईं बरु यही बस्नुस् , हामी यही बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा हैन म यही ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् ।

मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे alarm लगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे alarm बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ । म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमी breakfast मा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईंलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौं । कोठाबाट सँगै निस्किने क्रममा म भर्‍याङबाट छिट्टै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडिदिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोही साँझ मलगायत मेरो क्रिकेट टीम भई केन्यातर्फ लागेका थियौं ।

केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा busy हुन्छु, game मा focus गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासि निज पीडित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाइ परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले मउपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो birth certificate समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानीमात्र गरी बसेका हौं ।

लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतल काठमाडौंमा मुद्दा दायर गरेको हो ।


क्लिकमान्डु