नेपालको आर्थिक वृद्धि ५.१ र महँगी ५.५ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल विकास अपडेट सार्वजनिक गर्दै विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५.१ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।

यस्तै, विश्व बैकले चालू आर्थिक वर्षमा नेपालमा ५.५ प्रतिशतले महँगी बढ्ने अनुमान गरेको छ । गत असोज २५ गते अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्ष ४.२ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

विश्व बैंकले आईएमएफभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको हो । विश्व बैंकले पछिल्लो ५ वर्षमा कर्जा दोब्बर हुनु चिन्ताको विषय भएको जनाएको छ। विश्व बैंकले आन्तरिक र बाह्य ॠणको वृद्धिदर सुस्त हुनु पर्ने जनाएको छ ।

‘नेपालको कर्जा धेरै होइन तर पछिल्लो ५ वर्षमा ॠण दोब्बर भएको छ, जुन चिन्ताको विषय हो । सधैं ॠण लिएर मात्रै आर्थिक गतिविधि हुनु हुँदैन’, विश्व बैंककी अर्थशास्त्री एलिक ब्रुकले भनिन् , अर्थ मन्त्रालयले ॠण वृद्धिदर सुस्त हुने जनाएको छ । जुन सकारात्मक हो ।’

सरकारी खर्च कम हुँदा सरकारलाई समेत तरलता अभाव भएकाले बजेट कार्यान्वयनमा जोड दिनु पर्ने आईएमएफले जनाएको छ ।


क्लिकमान्डु