सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति, अनुसन्धान प्रतिवेदन बुझाउने तयारी



काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो ।

यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो ।

अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताए ।

उनले आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई बुझाउने तयारी गरेको बताए ।

प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएको आफूहरुको बुझाइ रहेको उनको भनाइ थियो । सन्दीपको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न गलत समाचार प्रकाशन भएको भन्दै सन्दीपको स्वास्थ्यअवस्थामा समस्या नरहेको उनले बताए ।

‘दुई दिनको म्याद दिनुभएको छ, आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई बुझाउने भनिएको छ । तिहारको बिदाका कारण हामीले सोचेको जस्तो अगाडि नै अभियोग पत्र आउने स्थिति छैन ।

बीचमा बिदा परेको र उहाँहरुको अनुसन्धान प्रक्रिया सुस्त भएको भन्ने हाम्रो बुझाइ छ । यो बीचमा आश्चर्यजनक समाचार पनि आए । अहिले उ एकदम ठीक छ । हाम्रो टिमले अध्ययन गरिरहेको छ’ घिमिरेले भने ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि असोज २० गते नेपाल आएलगत्तै सन्दीपलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।


क्लिकमान्डु