बिष्णु पौडेलका प्रतिस्पर्धी गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै, सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो । निर्वाचन कार्यालयको उक्त निर्णय बदरगरी आफ्नो उम्मेदवारी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

अब कात्तिक २ गते सर्वोच्चको संयुक्त इजलासले आज एकल इजलासबाट जारी अल्पकालिन आदेशलाई निरन्तरता दिए गुरुङको उम्मेदवारी कायम रहने छ । तर, संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा गुरुङ उम्मेदवार बन्न पाउने छैनन् ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धा गर्न रुपन्देही-२ मा नेपाली काँग्रेससहितको गठबन्धनका तर्फबाट गुरुङले उम्मेदवारी दिएका थिए । गुरुङको उम्मेदवारी कायम नभए पौडेल सहजै निर्वाचित हुनेछन् ।


क्लिकमान्डु